गाडी ठोक्किँदा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख ३० गते ६:०० मा प्रकाशित

चितवन, ३० वैशाख – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको जुगेडीमा मङ्गलबार बिहान  भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा चितवन खैरहनी गाउँ विकास समिति वडा नं ४ निवासी ६५ वर्षीया केशवमाया रावल र जुटपानी गाविस वडा नं ४ निवासी ८१ वर्षीया मैया थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख २८०७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको बा११च १२५७ नम्बरको टाटासुमोले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना४ख ५६९६ नम्बरको बससँग ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका तीनवटै सवारीसाधनका घाइतेको भरतपुरका दुई वटा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको छ । मृतक दुवै सुमोका यात्रु रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us