
इटहरी, २४ वैशाख– सुनसरीको झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागारमा रहेका एक कैदीले तीन कैदी बन्दीलाई खुकुरी प्रहार गरेका छन् ।
ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका हरि राईले सोमबार दिउासो तीन कैदीबन्दीलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार कैदी राईले कारागारभित्र मुडा बनाइरहेका तीन कैदी बन्दीलाई खुकुरी प्रहार गरेका थिए । लागुऔषध कारोबारमा जेल जीवन बिताइरहेका चित्र कार्कीको गर्धनमा खुकुरी प्रहार भएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, राईको खुकुरी प्रहारबाट शरीर बन्धक तथा अपहरण मुद्दामा कारागार जीवन बिताइरहेका मनकुमार लिम्बू र डााका मुद्दाका कैदी भुवन गुरुङ घाइते भएको क्षेत्रीय कारागार कार्यालयका सहायक राजेन्द्र कार्कीले जानकारी दिए ।
खुकुरी प्रहारपछि कैदी राईलाई पनि अन्य कैदी बन्दीले कुटपीट गरेको कारागारले जनाएको छ ।
चारै जना घाइते कैदीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीले जानकारी दिए ।
खुकुरी प्रहार गर्ने कैदी राईलाई केही समयअघि मात्रै केन्द्रीय कारागारबाट क्षेत्रीय कारागार झुम्झा ल्याइएको प्रहरीले जनाएको छ । सहायक कार्कीका अनुसार राईको मानसिक अवस्था ठीक छैन ।
डेढ वर्षअघि कारागारभित्रैबाट सुरुङ खनेर कैदीबन्दी फरार भएपछि झस्किएको कारागार प्रशासनले कारागारको नयाा भवन बनेसँगै आन्तरिक सुरक्षा व्यवस्थामा कडाइ गर्दै आएको जनाएको थियो । रासस