नयाँ राष्ट्रिय कीर्तिमान

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख – मध्यमाञ्चलकी संगीता खड्काले छैटौं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा १ हजार ५ सय मिटर दौडमा सोमबार विद्यालयस्तरीय नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संगीताले निर्धारित दूरी ५ मिनेट १२ सेकेन्डमा पूरा गर्दै २०४६ सालमा मध्यमाञ्चलकै सुबासना पन्थले बनाएको ५ मिनेट १३.२ सेकेन्डको कीर्तिमान तोडिन् । कीर्तिमानसंगै संगीताले १० हजार नगद पुरस्कार पनि सुरक्षित गरिन् । पश्चिमाञ्चलकी निर्मला क्षेत्री (५ मिनेट २१.५१ सेकेन्ड) दोश्रो र मध्यपश्चिमाञ्चलकी रेश्मा बस्नेत (५ मिनेट २७.८० सेकेन्ड) तेश्रो भए ।
सोही स्पर्धाको छात्रमा पूर्वाञ्चलका हर्कबहादुर लुहागुनले स्वर्ण हात पारे । उनले दौड पूरा गर्न ४ मिनेट २२.५० सेकेन्ड समय खर्चे । सुदूरपश्चिमाञ्चलका सन्तोषविक्रम विष्ट (४ मिनेट २४.७० सेकेन्ड) ले रजत र मध्यपश्चिमाञ्चलका दिनेश आफ्रे (४ मिनेट २७.२६ सेकेन्ड) तेश्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्र ट्रिपलजम्पमा मध्यमाञ्चलका राहुल पजियार शीर्ष स्थानमा रहे । उनले १२.८२ मिटर हाम्फाले । सुदूरपश्चिमाञ्चलका प्रवीणबहादुर पाल (१२.६७ मिटर) दोश्रो तथा मध्यमाञ्चलका जंगबहादुर थारु (१२.३८ मिटर) तेश्रो बने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us