
काठमाण्डु, १३ वैशाख – मेहबुव आलम र राजकुमार प्रधानले राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन् ।
नेपाल क्रिकेट संघ क्यानले मलेसियामा आयोजना हुने एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि शुक्रबार घोषणा गरेको १४ खेलाडीभित्र प्रधान र आलमलाई समावेश गरिएको छ ।
साथै वीरगञ्जका अलराउण्डर आरिफ शेख पनि पहिलो पटक राष्ट्रिय टोलीमा छनोट भएका छन् । यसै साता काठमाण्डुमा सम्पन्न एक दिवसीय क्रिकेट प्रतियोगितामा वीरगञ्जलाई दोस्रो पटक उपाधि दिलाउन शेखले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा शेखले ६ खेलमा २६१ रन बनाउनुका साथै ११ विकेट लिएका थिए । यता, नेपाली टोलीकै भेट्रान्स लेग स्पिनरका रुपमा लिइने राजकुमार प्रधानले पनि एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरेका थिए ।
प्रधानले बिराटनगरका लागि पाँच खेलमा सर्वाधिक १६ विकेट हात पारे । मुलुकको क्रिकेटमा कुनै भविष्य नदेखको प्रधान बैदेशिक रोजगारीको सिलसिलामा कतार समेत पुगेका थिए । कतारबाट फर्केपछि उनी क्रिकेट मै व्यस्त रहे ।
खराव फर्मबाट गुज्रिएपछि राष्ट्रिय टोलीमा अटाउन नसकेका मेहबुव आलमले यो पटक आफ्नो स्थान पक्का गरेका छन् ।
उनी दुई बर्षपछि राष्ट्रिय टिममा फर्किएका हुन् । नेपाली राष्ट्रिय टोलीमा रहँदा आलमलाई अलराउन्ड खेलाडीकै रुपमा लिने गरिन्थ्यो ।