
काठमाण्डु, १२ वैशाख – नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न विधामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई ‘पल्सर स्पोर्टस अवार्ड २०७० ’ले सम्मान गर्ने भएको छ ।
मञ्चद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी जेठ १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विभिन्न खेलका आठ विधामा २०७० साल भरी उत्कृष्ट खेल पर्दशन गर्ने खेलाडीलाई छनोट गरी सम्मान गर्ने मञ्चका अध्यक्ष अजय फुयाँलले जानकारी दिए ।
उत्कृष्ट आठ विधामा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा एथलिट, लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पपुलर प्लेयर अफ द इयर रहेका छन् ।
सम्मानस्वरुप उत्कृष्ट घोषित हुने एक पुरुष र एक महिला खेलाडीले समान एक एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका उत्कृष्ट खेलाडीले ट्रफिसहित रु ५० हजार प्राप्त गर्नेछन् ।
स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र उत्कृष्ट पारा एथलिटमा पर्ने खेलाडीको घोषणा जेठ १८ गते नै हुनेछ भने अन्य पाँच विधामा पाँच पाँच जना खेलाडी मनोनयन गरिने उक्त पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
यस्तै पपुलर प्लेयर अफ द इयरको अवार्डको लागि भने फेसबुकको लाइक र एसएममएस भोटिङको आधारमा घोषणा गरिनेछ ।
हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रा लिका कार्यकारी निर्देशक शेखर गोल्छाले देशको लागि पसिना बगाउने खेलाडीलाई सम्मान गर्न कसंैले पनि कञ्जुसाई गर्न नहुने बताए ।
हुलासचन्द एण्ड कम्पनीले उक्त सम्मान कार्यक्रमको लागि मोटरसाइकलसहित १२ लाख प्रदान गर्नेछ ।