पेट्रोलियम पदार्थको अभाव

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १०:५२ मा प्रकाशित

काठमाडौँ, २ वैशाख । भारतीय आयल निगम (आइओसी)लाई बक्यौता रकम समयमै भुक्तानी नहुँदा बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

नेपाल आयल निगम(एनओसी)ले(आइओसी)लाई गत फेब्रुअरीदेखि यता पाँच अर्ब बक्यौता भुक्तानी गर्न बाँकी छ ।

नेपाल सरकारसँग आइओसीलाई तीर्न बाँकी बक्यौता रकम उपलब्ध गराइदिन अनुरोध गर्दा पनि त्यसको सुनुवाइ नुहुँदा समस्या भएको बताइएको छ ।

निगमले आज पनि वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आइओसीलाई तीर्न पर्ने रकम र आयात भएको पेट्रोलियम पदार्थका सम्बन्धमा जानकारी गराएको निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार आइओसीले कटौती गरेको तेलको मात्रालाई पूर्ति गर्न निगमसँग मौज्दातबाट वितरण गर्न सुरु गरिएको छ ।

निगमसँग ३४ हाजार किलोलिटर पेट्रोलियम पदार्थ घटेर आजको दिनसम्म २७ हजार किलोलिटरमा बाँकी रहेको छ ।

यदि आइओसीले निरन्तर कटौतीलाई कायम राख्ने हो भने निगमसँग बाँकी रहेको मौज्दातले धेरै दिन धान्न सक्ने अवस्था छैन ।

प्रवक्ता घिमिरले रक्सौलबाट दैनिक दुई हजार ४०० किलोलिटर पेट्रोलियम पदार्थ आउनुपर्नेमा केही दिनयता एक हजार ७०० मात्र नेपाल भित्रिएको जानकारी दिए ।

निगमले बारम्बार अनुरोध गरेपछि आज भने एक हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ आएको उनले बताए । यो अवस्था निरन्तर अरु केही दिनसम्म कायम रहेमा थप समस्या सिर्जना हुने प्रवक्ता घिमिरेको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us