भारतमा विपक्षी गठबन्धनले बहुमत ल्याउने अनुमान

काठमाण्डु टुडे २०७१ वैशाख २ गते ८:३५ मा प्रकाशित

नयाँ दिल्ली, २ वैशाख  – भारतमा जारी रहेको आम निर्वाचनमा त्यहाँको विपक्षी गठबन्धनले स्पष्ट बहुमत ल्याउने पछिल्लो सर्वेक्षणले देखाएको छ ।

पछिल्लो सर्वेक्षणले भारतमा जारी रहेको आम निर्वाचनका क्रममा त्यहाँका प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीको गठबन्धनले सरकार निर्माणका लागि आवश्यक पर्ने स्पष्ट बहुमत हासिल गर्नसक्ने जनाएको छ ।

यसअघि पनि सार्वजनिक गरिएका विभिन्न संघ, संस्था एवम् सञ्चारमाध्यमहरुले गरेका सर्वेक्षणहरुले सोही दलको गठबन्धन बहुमतको नजिक पुग्ने अनुमान गरेका थिए ।

तर भारतीय टेलिभिजन संस्था एनडिटीभीले गरेको यो पछिल्लो सर्वेक्षणले भने उक्त गठबन्धनले सरकार निर्माणका लागि आवश्यक पर्ने स्पष्ट बहुमत नै हासिल गर्ने जनाएको छ ।

उक्त सर्वेक्षणका अनुसार सो गठबन्धनले भारतीय संसदको तल्लो सदन लोकसभामा २७५ स्थानमा विजय हासिल गर्ने देखाइएको छ ।

सो सभामा निर्वाचित हुने ५४३ स्थान मध्ये भारतीय जनता पार्टीको नेतृत्वमा रहेको गठबन्धनले मात्र २७५ स्थान हासिल गर्ने सो सर्वेक्षणले देखाएको छ ।

यसअघि सोही टिभीले गरेको अर्काे सर्वेक्षणमा भन्दा यसपटक सो दलले १६ स्थान थप ल्याउने अनुमान गरिएको हो ।

उक्त संस्थाले भनेको छ– निर्वाचनको पूर्व सन्ध्यामा भन्दा निर्वाचन सुरु भएपछि सो दलको लोकप्रियता बढी मात्रामा देखिएकोले आगामी निर्वाचनमा सो गठबन्धनले २७५ स्थान जित्ने अनुमान गरिएको छ ।
सो सर्वेक्षणले भारतीय जनता पार्टीले मात्र भने २२६ स्थानमा मात्र विजय हासिल गर्ने देखाएको छ । थप स्थानमा भने उसको गठबन्धनका अन्य दलहरुले जित्ने छन् ।

भारतीय काँग्रेसको अवस्था निर्वाचन अघि भन्दा निर्वाचनको सुरुवातपछि झनै खस्किएको पाइएको पनि सो सर्वेक्षणमा बताइएको छ ।

भारतको निर्वाचनमा दुई प्रमुख दल काँग्रेस र भारतीय जनता पार्टीले दुई छुट्टै गठबन्धन निर्माण गरी निर्वाचनमा गएका छन् ।

भारतीय काँग्रेसले युनाईटेट प्रोग्रेसिभ अलाइन्स र भाजपाले नेशनल डेमोक्रेटिक अलाइन्सका नाममा ती गठबन्धन निर्माण गरेका छन् ।

भारतमा गत अप्रिल ७ देखि निर्वाचन सुरु भएको छ । विभिन्न चरणमा जारी रहेको सो निर्वाचनको अन्तिम परिणाम भने आगामी मे १२ मा मात्र घोषणा गरिने छ ।

निर्वाचनका प्रारम्भिक यस्ता सवैजसो सर्वेक्षणहरुले नै भारतको मुख्य विपक्षी दल भारतीय जनता पार्टीले नै आगामी सरकार निर्माण गर्ने नतिजाहरु सार्वजनिक गरिरहेका छन् ।

निर्वाचनमा भाजपाको गठबन्धनले आवश्यम बहुमत हासिल गर्न नसकेमा भने पश्चिम बंगालमा बलियो आधार रहेको भनिएको त्रिणमूल पार्टीसँग सरकार निर्माणका लागि सहकार्य गर्नसक्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us