विस्थापित बैंकको काम सहकारीबाट

काठमाण्डु टुडे २०७१ वैशाख १ गते १०:५८ मा प्रकाशित

बैतडी, १ वैशाख – एकदशक अघि बैतडीको पुरचौडी हाटबाट विस्थापित भएको नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकको अभाव भोग्दै आएका स्थानीय बासिन्दालाई अहिले सहकारीले राहत प्रदान गर्दै आएको छ ।

कोपिला बचत तथा ऋण सहकारीले आवश्यक परेका बेलामा एक लाख ५० हजारसम्म सस्तो ब्याजदरमा ऋण सहयोग गर्न थालेपछि सहकारी नै स्थानीयहरूको बैंक बनेको छ ।

विसं २०६४ मा स्थापना भएको सो सहकारीमा हालसम्म २६० जना सेयर सदस्य रहेका छन् भने करिब २८ लाख ऋण लगानी गरेको सहकारीकी सदस्य रायमती धानुकल बताईन् ।

नियमित बचत गरी कार्य क्षेत्र विस्तार गर्दै गएको सहकारीले अहिले स्थानीयका लागि विस्थापित बैंकको ठाउँमा राहत प्रदान गर्दै आएको सहकारीका सचिव पुष्कर धानुकले बताए ।

सरकारले एक लाख अनुदान दिन थालेपछि जिल्लाका ६२ गाविसमा स्थापना भएको विभिन्न सहकारी निष्क्रिय भएका बेला सो सहकारी संस्था भने फस्टाउँदै गएको छ ।

सहकारीबाट ऋण लिएर हाट, कोटिला र मल्लादेहीका दर्जनाँै बासिन्दाले आआफ्नो व्यवसायसमेत सुरु गरेका छन् ।

व्यापार व्यवसाय, कुखुरापालन, तरकारीखेती, घरेलु उद्योगलगायतका क्षेत्रमा सहकारीले लगानी गरेको छ भने आवश्यक परेको समयमा सेयर सदस्यले चाहेअनुसारको ऋणसमेत पाउने गरेको सचिव धानुकको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us