माछापालनका लागि द्वन्द्वपीडितलाई अनुदान

काठमाण्डु टुडे २०७१ वैशाख १ गते १०:५७ मा प्रकाशित

fishकञ्चनपुर, १ वैशाख । जिल्ला विकास समिति कञ्चनपुरले माछापालनका लागि कञ्चनपुरका द्वन्द्वपीडित समुदायलाई अनुदान दिने भएको छ । कृष्णपुरका द्वन्द्वपीडित समुदायलाई समितिले आगामी आर्थिक वर्षका लागि रु आठ लाख अनुदान दिने भएको हो ।

जिविसले कृष्णपुरका पीडितका लागि आगामी आर्थिक वर्ष २०७१÷०७२का लागि रु आठ लाख विनियोजन गरेको कञ्चनपुरका स्थानीय विकास अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । द्वन्द्वपीडितलाई आत्मनिर्भर बनाउनका लागि जिविसले सो रकम विनियोजन गरेको उनले बताए ।

पीडितहरूलाई माछापालनका लागि रकम दिइनेछ, उनीहरूले रकमअनुसारको माछापालन गर्नुपर्ने छ । पीडितहरूलाई व्यवसाय गर्न कठिन भएका कारण जिविसले उक्त रकम दिन लागेको हो ।

यसैगरी समिति कञ्चनपुरले द्वन्द्वका बेला क्षतिग्रस्त जिविस भवन मर्मतका लागिसमेत बजेट विनियोजन गरेको छ । जिल्ला विकास समितिको भवन मर्मतका लागि रु पाँच लाख विनियोजन गरिएको स्थानीय विकास अधिकारी ढकालले बताए । आगामी आर्थिक वर्षमा जिविसको क्षतिग्रस्त भवन मर्मत हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us