कृषि प्रधान मुलुकमा आलु चिप्स मात्र ३८ करोडको आयात

काठमाण्डु टुडे २०७० चैत ३० गते १२:१९ मा प्रकाशित

वीरगन्ज, ३० चैत– नेपालमा बर्सेनि झन्डै ३८ करोड मूल्य बराबरको आलु चिप्स आयात हुने गरेको छ ।
नेपाली किसानलाई व्यवसायिक रुपमा चिप्स बनाउन सरकारले प्रोत्साहन गर्न नसक्दा वार्षिक करोडौं रुपैयाँ चिप्स आयातका लागि विदेशिने गरेको हो ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरद्वारा आइतबार सो कार्यालयमा आयोजित ‘घरेलुस्तरमा आलु चिप्स बनाउने तरिका’ विषयक तालिमका अवसरमा कृषि वैज्ञानिक तथा प्राविधिकले सो जानकारी दिए ।
‘हाम्रो जस्तो कृषि प्रधान मुलुकका किसानले कृषिजन्य उत्पादन निर्यात गरेर आम्दानी बढाउन सक्ने सम्भावनाको उपयोग गर्नुको सट्टा उल्टै चिप्सका लागि विदेशी किसानमाथि आश्रित हुनु बिडम्बना हो र यसले परनिर्भरताको परकाष्ठालाई थप उजागर गरेको छ’–नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम खुमलटारका वरिष्ठ वैज्ञानिक एवम् प्रशिक्षक ईश्वरीप्रसाद गौतमल भने ।
‘चिप्स बनाउनका लागि प्रयोग गरिने आलुको छनोटमा विशेष ध्यान दिनुपर्दछ’, प्रशिक्षक एवम् प्राविधिक रमेशचन्द्र खतिवडाले भने, ‘आलुको जातअनुसार चिप्सको गुणमा फरक पर्ने भएकाले विशेषगरी चिप्स बनाउनका लागि राम्ररी छिप्पिएको, कम र पातलो आँखा भएको सेतो आलु नै सबैभन्दा बढी उपयुक्त हुन्छ ।’

राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा गरिएको परीक्षणका आधारमा काठमाण्डु क्षेत्रका लागि पिआरपी २५८६१.१, खुमल सेतो–१ र एल– २५३.४ जातका आलु चिप्स बनाउनका लागि राम्रो देखिएको वरिष्ठ वैज्ञानिक गौतमले बताए ।

‘गरिब, विपन्न र सामाजिक तथा आर्थिक रुपले पिछडिएका समुदाय एवम् वर्गको जीवनस्तर माथि उकास्नका लागि यो तालिम अत्यन्त उपयोगी देखिएको छ’–क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका वरिष्ठ कृषि वैज्ञानिक एवम् तालिम व्यवस्थापक जीतनारायण चौधरीले भने ।

चिप्स उत्पादनमा आत्मनिर्भर हुन र यसको उत्पादनबाट किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याई गरिबी न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा बारा, पर्सा, मकवानपुर र रौतहटका ४० महिला किसानको सहभागिता छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us