कागज उद्योगबाट मनग्ये आम्दानी

काठमाण्डु टुडे २०७० चैत २९ गते ११:०२ मा प्रकाशित

इलाम, २९ चैत । इलाम माइपोखरी–९ की रूपा राईले आफ्नै पहलमा कागज उद्योग स्थापना गरेर वार्षिक रु दुई लाखभन्दा बढी कमाएकी छन् । माइपोखरी–२ स्थित पुवाखोला बजारमा हाते कागज उद्योग खोलेर मासिक १७ हजारभन्दा बढी आम्दानी गर्न थालेकी हुन् ।

स्थानीयस्तरमा पाइने ‘लोक्ता प्रशस्त पाउँदा राम्रो फाइदा हुन्छ’ खेतबारी नजिकै खोलिएको घरेलु कागज उद्योगमा फर्माबाट कागज छुट्याउँदै राईले भनिन्, ‘अहिले दैनिक ३०० देखि ४०० ताउसम्म कागज बनाउने गरेको छु ।’ कागज उद्योगबाट कमाएको पैसाले छोराछोरी पढाउन र घर खर्च चलाउन सजिलो भएको उनले सुनाइन् ।

वैदेशिक रोजगारीका सिलसिलामा श्रीमान विदेश गएपछि उनले आफ्नै पहलमा कागज उद्योग खोलेकी हुन् । उत्पादित कागज फिदिम, ताप्लेजुङ तथा इलाम बजारमा समेत पुग्ने गरेको छ ।

एक किलो लोक्ताबाट करिब ३०० थान कागज बनाउन सकिने उद्यमी राई बताउँछिन् । गाविसकै लेकाली भागबाट कच्चा पदार्थ खरिद गर्छिन् । एक किलो लोक्ताको मूल्य रू ८० पर्छ । माइतीमै हुँदा कागज बनाउन सिकेकी उनले सीपलाई सदुपयोग गर्न उद्योग खोलेको बताइन् ।

‘पाँचथरको रानीटारमै मैले कागज बनाउन सिकेकी हुँ, श्रीमानले पनि व्यवसायमा थप लगानी गरिदिएपछि झन् उत्साहित भएकी छु,’ उनले भनिन् ।

कागज सुकाउनका लागि पनि अहिले उपयुक्त समय भएको कागज उद्योगमा संलग्न उद्यमीहरू बताउँछन् ।

राईले भनिन्, ‘थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने यस्ता उद्योगबाट धेरैले रोजगारी लिन सक्छन् ।’

उनले हातेमालो बचत कृषक समूहको आर्थिक सहयोगमा उद्योग खोलेकी हुन् । उद्योगमा जनशक्ति थपेर विस्तार गर्ने उनको योजना रहेको छ ।

माइपोखरीकै वडा नं–९ स्थित फागो बस्तीमा पनि स्थानीय जीवन फागोले पहाडे कागज बनाउने मेसिन राखेका छन् । माइपोखरीको लेकाली क्षेत्रमा अरूले पनि हाते उद्योग खोल्ने क्रम बढ्न थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us