काठमाण्डु, २८ चैत – चीन सरकारको प्राविधिक तथा अनुदान सहयोगमा सिन्धुपाल्चोकको तातोपानी नजिक निर्माणाधिन ‘लार्चा’ सुक्खा बन्दरगाह निर्धारित समयमै निर्माण सम्पन्न गर्न चुनौती थपिएको छ ।
आगामी आठ महिनाभित्र निर्माण पूरा हुनुपर्ने बन्दरगाहसँगै निर्माण हुनुपर्ने लिचिङको मितेरी पुलदेखि बन्दरगाहसम्मको ६.५ किलोमिटर बाटो विस्तार कार्यमा समस्या सिर्जना भए पछि आयोजना पूरा गर्न कठिनाइ हुने भएको हो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले भने, ‘बन्दरगाह निर्धारित समय (फ्रेबु्रअरी २०१५)भित्र सम्पन्न हुन्छ तर सडकको दायाबाँया बनेका घरटहरा तत्काल नहट्ने हो भने सोही आयोजनाअन्तर्गतको सडक विस्तार कार्यमा भने ढिलाइ हुने देखिएको छ ।’
स्थानीयवासीको अवरोध र सरकारी भवनको पुनःनिर्माण गर्ने कार्यमा प्रक्रियागत ढिलाइ भएकाले आयोजना सम्पन्न गर्न समस्या भएको हो । सडकका दायाबाँया ३८५ वटा स्थानीयवासीका घरटहरा भत्काउनुपर्ने हुन्छ । त्यसैगरी तातोपानी भन्सार र अध्यागमन कार्यालयको भवन पनि सडक विस्तारमा पर्छ ।
सरकारी कार्यालय पहिले हटाउनुपर्ने र आफ्ना घरटहराको उचित क्षतिपूर्ति दिनुपर्ने माग स्थानीयवासीको छ । सरकारी भवन भत्काउन उच्च सरकारी निकायबाट निर्देशन गरिए पनि दैनिक कार्य प्रभावित नगरी कार्यालय स्थानान्तरण गर्न गाह्रो भएको छ ।
क्षतिपूर्तिको माग गर्दै पुनरावेदन अदालत पाटनमा परेको रिटका विषयमा अदालतले तत्काल घरटहरा नभत्काउन अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा झनै अन्योलता थपिएको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले बताए ।
केही समयअघि नेपाल भ्रमणमा आएका चिनियाँ प्रतिनिधि मण्डलले वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत निर्माण हुन लागेको उक्त बन्दरगाहका विषयमा चासो व्यक्त गरेको थिए । उनीहरूले बन्दरगाह निर्माण कार्य सन्तोषजनक रहेको बताउँदै बाटो विस्तार कार्यमा नेपाली पक्षको ध्यान जानुपर्ने धारणा राखेका थिए ।
सो आयोजनाका लागि चीन सरकारले सन् २०१२ मा नेपाल सरकारसँग सम्झौता गरेको थियो । सम्झौतामा नेपाली पक्षले आवश्यक जग्गा र सडक विस्तारका लागि वातावरण उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।
नेपाल÷चीन व्यापार घाटालाई कम गर्न सहयोग पुग्ने विश्वासका साथ अघि बढाइएको सो आयोजना निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा सबै पक्षको जोड रहे पनि प्रक्रियागत समस्या देखिएको छ ।
उता सरकारी भवन भत्काउनका लागि कुनै समस्या नभएको त्यहाँका अध्यागमन तथा भन्सार कार्यालयले जनाएको छ ।
चौँतिस हेक्टर क्षेत्रफलमा निर्माण भइरहेको सो बन्दरगाहमा १५८ वटा कन्टेनर र ३५ वटा साना सवारी साधन अटाउन सक्नेछन् । सो आयोजनाअन्तर्गत ११२ मिटर लामो भोटेकोसीमाथि बन्ने पुलसमेत निर्माण हुने जनाइएको छ ।