सात करोडको लागतमा पशुपतिमा भोजनगृह निर्माण

काठमाण्डु टुडे २०७० चैत २७ गते १२:५२ मा प्रकाशित

काठमाण्डु, २७ चैत – पशुपति क्षेत्र परिसरमा अत्याधुनिक प्रसादी भोजनगृह निर्माण गरिएको छ ।

टाढाबाट पशुपति दर्शन गर्न आउने भक्तजन तथा विभिन्न कार्यक्रम प्रयोजनको लागि पशुपति क्षेत्र विकास कोषको करिब छ रोपनी क्षेत्रफलमा ‘माधवराज सुमार्गी स्मृति भवन’ निर्माण गरिएको हो ।

व्यवसायी अजय सुमार्गीले झण्डै सात करोडको लागतमा एक तले अत्याधुनिक भवन बनाइदिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

भवनमा एउटा ५०० जनाको सिट क्षमताको सभा हल तथा अर्को थप दुई वटा अढाई सय गरी एक हजार जना बस्न सक्ने क्षमताको हल बनाइएको छ । त्यहाँ अपाङ्गमैत्री शौचालय, भवन परिसरमा आकर्षक वगैचा निर्माण गरिएको छ ।

उक्त भोजनगृह आगामी वैशाख १ गते प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा कोषलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

टाढाबाट आएका भक्तजन, क्रियापुत्रीबसेको तेह्र दिनको संस्कार तथा विभिन्न धार्मिक सांस्कृतिक कार्यक्रमका लागि सभाहल प्रयोग गरिने उनले बताए ।

हल सञ्चालनपछि कोषको आम्दानीको नयाँ स्रोत पनि सिर्जना हुने हुनाले भोजनगृह वहुउपयोगी हुने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us