राष्ट्र बैंक जनकपुरमा एनसिएचएल प्रणाली

काठमाण्डु टुडे २०७० चैत २७ गते १२:३८ मा प्रकाशित

Banksजनकपुरधाम, २७ चैत – नेपाल राष्ट्र बैंक जनकपुरले विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रविधि लागू गरेको छ ।

नेराबैंक जनकपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा डेपुटी गभर्नर महाप्रसाद अधिकारीले म्यानुअल चेक क्लियरिङ पूर्णरूपमा विस्थापित गरी विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रविधि लागू गरिएको बताए ।

उनले काठमाण्डु, वीरगन्ज, विराटनगर, भैरहवा, नेपालगन्ज, पोखरा र धनगढीबाट म्यानुअल चेक क्लियरिङ विस्थापित भएपछि पूर्णरूपमा एनसिएचएल इसिसी सञ्चालनमा आएको अन्तिम क्षेत्र जनकपुर भएको समेत जानकारी दिए ।

एनसिएचएल इसिसी विधिले सदस्य बैंक एवम् वित्तीय संस्थाका ग्राहकले जुनसुकै शाखाको चेक पेस गरेमा सोही दिन चेक राफसाफ हुने व्यवस्था छ ।

हाल एनसिएचएल प्रणालीमा नेराबंैक, ३१ वाणिज्य बैंक, ५९ विकास बैंक र ४४ वित्तीय संस्था गरी १३५ सदस्य आबद्ध छन् । एनसिएचएल प्रणालीबाट हाल दैनिक औसत २१ हजार चेक कारोबार हुँदै आएको जनाइएको छ ।

नेपालमा पहिलो राष्ट्रियस्तरको भुक्तानी प्रणाली एनसिएचएल इसिसीको सफल सञ्चालन देशको बंैकिङ क्षेत्रमा प्रमुख कोसेढुङ्गा भएको जिकिर गरिएको छ । एनसिएचएल इसिसीमार्फत सदस्य बैंक तथा वित्तीय संस्थाबाट खिचिएका चेक, ड्राफ्ट, भुक्तानी पत्र, म्यानेजर चेक, डिभिडेन्ड वारेन्टजस्ता विनिमय पत्रको राफसाफ गर्न सकिने सुविधा छ ।

हाल नेपाली रुपैयाँ, अमेरिकी डलर, पाउन्ड र युरो गरी चार मुद्राका सबै विनिमयपत्र राफसाफ हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us