खाद्य प्रयोगशाला भवन निर्माण ढिलाइ

काठमाण्डु टुडे २०७० चैत २६ गते ११:१५ मा प्रकाशित

काठमाण्डु, २६ चैत – अत्याधुनिक प्रविधियुक्त खाद्य प्रयोगशाला भवन निर्माणमा ठेकेदारले विलम्ब गर्दा नेपाल खाद्य संस्थानलाई हस्तान्तरण हुन सकेको छैन ।

भारत सरकारको सहयोगमा जिल्ला विकास समितिले तीन वर्षदेखि बनाउन सुरु गरेको भवन २०६९ सालमा संस्थानलाई हस्तान्तरण गर्ने सम्झौता भए पनि हालसम्म त्यसो भएको छैन ।

“निर्माण कार्य करिब–करिब सम्पन्न भइसकेको छ” नेपाल खाद्य संस्थानका निमित्त नायब महाप्रबन्धक नवराज उपाध्यायले भने, “एक वर्षअघि नै हस्तान्तरण गरिसक्नुपर्ने हो, तर अहिलेसम्म हुन सकेको छैन ।”

“हस्तान्तरण गर्न माग गर्दै संस्थानबाट दुई वटा पत्र पठाई सकियो, यही चैत अन्तिमसम्ममा हस्तान्तरण गर्ने तयारी भइरहेको जिविसबाट जानकारी आएको छ”, उनले भने ।

आधुनिक खाद्य प्रयोगशालाको भवन र उपकरण सबै भारत सरकारको सहयोगमा प्राप्त हुने भएकाले सबै निर्माण र उपकरण तयार गरिसकेपछि मात्र संस्थानलाई भवन हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

प्रयोगशालाका लागि चाहिने आवश्यक जनशक्ति तथा प्राविधिक संस्थानले नै तयार गर्छ, २०७१ सालदेखि खाद्य प्रयोगशाला प्रयोगमा आउने विश्वास गरिएको उपाध्यायले जानकारी दिए ।

संस्थानको जमिनमा निर्माण भएको सो प्रयोगशाला भवन र उपकरणसहित चार करोड ९४ लाखमा निर्माण भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us