
धनगढी, २५ चैत – कैलालीको पहाडी क्षेत्रका गाविसमा उत्पादन हुँदै आएको अदुवाको भाउ यस वर्ष गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ ।
आफ्नो कृषि उपजले भाउ पाएपछि स्थानीय कृषक उत्साहित भएका छन् । भाउ वृद्धिसँगै कृषकहरू अदुवाखेतीतर्फ आकर्षित भएको निगाली गाविसका कृषक रमेश कँडेलले बताए ।
गत वर्ष प्रतिकिलो काँचो अदुवा रु ४० देखि ५० को दरले बेचेका स्थानीय कृषकले आफ्नै गाउँमा यस वर्ष अदुवाको मूल्य प्रतिकिलो रु १०० देखि ११० सम्म पाएका छन् । यतिबेला अदुवा रोप्ने समय भएकाले बीउ अदुवाको मूल्य प्रतिकिलो रु १३० सम्म पुगेको छ ।
जिल्लाको पहाडी क्षेत्रमा उत्पादित अदुवा भारतमा बढी निकासी भएका कारण यसको भाउ वृद्धि भएको कृषकले बताएका छन् । ‘अदुवा खरिद गर्न भारतीय र नेपाली व्यापारी घरमै आइपुग्छन्, तीन रोपनी जग्गामा अदुवाखेती गर्दै आउनुभएका कँडेलले भने, उचित मूल्य पाउँदा कृषकको कमाई पनि राम्रै भएको छ ।’
अहिले अदुवा रोप्ने समय भएकाले स्थानीय कृषकलाई अदुवाको बीउ खोजेर खेतबारीमा रोप्न भ्याइनभ्याई भएको छ ।
सुन्तला उत्पादनका लागि पनि प्रख्यात मानिने निगाली गाविसमा स्थानीय कृषकले एउटै खेतबारीमा सुन्तला र अदुवाखेती सँगसँगै गर्न थालेका छन् । सुन्तलाको रुखमुनिको जग्गामा अदुवाखेती गर्दा सुन्तला र अदुवाको उत्पादन राम्रै हुने गरेको अनुभव कृषक कँडेल बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख खगेन्द्रप्रसाद जोशीले अदुवाखेतीतर्फ कृषकलाई प्रोत्साहित गर्न निगाली र सहजपुर गाविसको कृषक सहकारी समूहमा अदुवा प्रशोधन केन्द्र स्थापनाको पहल सुरु भएको जानकारी दिए । प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीय क्षेत्रमा उत्पादित काँचो अदुवाको सुठो तयार हुने भई यसबाट कृषकको आयआर्जनमा समेत वृद्धि हुने जोशीले बताए ।
जिल्लाको सहजपुर, निगाली र खैराला गाविसका साथै यी गाविससँग सीमा जोडिएको डोटीको बर्छेन, घाँगल, निरौलीलगायतका गाविसमा बर्सेनि उत्पादन हुने अदुवामध्ये करिब ८० प्रतिशत परिमाणको काँचो अदुवा भारत निकासी हुने गरेको छ भने करिब २० प्रतिशत स्थानीय क्षेत्रमै खपत हुने गरेको स्थानीयवासीको भनाइ छ ।
कैलाली जिल्लाका पहाडी गाविसहरूमा पाँच सय हेक्टर क्षेत्रफलको जग्गामा गरिने अदुवाखेतीबाट बर्सेनि करिब १० हजार टन अदुवा उत्पादन हुने गरेको तथ्याङ्क कृषि विकास कार्यालयसँग छ ।
अदुवाको सुठो तयार गरी बिक्री गर्दा राम्रो मूल्य पाइने हुँदा कतिपय कृषकले परम्परागत ढङ्गबाट केही परिमाणमा सुठोसमेत तयार गर्ने गरेका छन् ।