समृद्धिका एजेण्डा उठाउन निजी क्षेत्रलाई आग्रह

काठमाण्डु टुडे २०७० चैत २४ गते १०:३१ मा प्रकाशित

काठमाण्डु, चैत २४ – अर्थविद्हरुले निजी क्षेत्रले राजनीति गरेको र राजनीति गर्नेहरुले व्यापार व्यवसाय गरिरहेको आभास हुन थालेको बताएका छन् ।

आर्थिक एजेण्डामाभन्दा पनि महासंघको महाधिवेशनले निर्वाचनको एजेण्डालाई महत्व दिनु सकारात्मक नभएको उनीहरुले बताए ।

मिडिया इन्टरनेशनलले शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थविद्हरुले नेपाल उद्योग बाणिज्य महासंघको आसन्न महाधिवेशन देशको आर्थिक समृद्धिका एजेण्डामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अर्थविद् डा.चन्द्रमणी अधिकारीले महासंघको अबको नेतृत्वले देशको आर्थिक वृद्धिदरमा जोड दिनुपर्ने बताए । उनले महासंघले समग्र देशको अर्थतन्त्रको भार बोक्ने नीजि क्षेत्रलाई उत्साहीत गर्ने कार्यक्रमहरु अघि सार्नुपर्ने बताए ।

महासंघले विकासे कामहरुलाई सहि ठंगले उठान गर्नुपर्नेमा उनको जोड छ । त्यस्तै अर्थविद डा. पोषराज पाण्डेले राजनीति गर्नेले व्यापार र व्यापार गर्नेले राजनीतिक गर्ने भएका कारण देशको अर्थतन्त्र डामाडोल भएको बताए ।

जसको नयाँ नेतृत्व आए पनि बाणिज्य महासंघलाई राजनीति गर्नेको थलो नबनाउन आग्रह गर्दै उनले अबको दिनमा महासंघले प्रतिस्पर्धात्मक बजारलाई जोड दिए देशको अर्थतन्त्रमा राम्रो सुधार आउने विश्वास व्यक्त गरे ।

उनले राज्यको आर्थिक नीति बलियो बनाउनका लागि पनि नीजि क्षेत्रले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us