धादिङ–गोरखा पर्यटन पूर्वाधारका लागि सम्झौता

काठमाण्डु टुडे २०७० चैत २१ गते १२:४५ मा प्रकाशित

गोरखा, २१ चैत – गोरखा र धादिङ जिल्लामा पर्ने पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यकीय कार्यक्रम सञ्चालन गर्न ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले रुवी भ्याली मनास्लु पर्यटन विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पर्यटकीय सम्भावनाहरूको पहिचान र त्यस क्षेत्रको पर्यटकीय पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय दातृ निकाय युके एड र डिएफआइडीको सहयोगमा टान, सामथ्र्य तथा एनएमडिपीका बीच कार्यक्रम सञ्चालनका विषयमा सम्झौता भएपछि यस क्षेत्रमा पर्यटन विकासको कार्यक्रम सुरु हुन लागेको हो ।

गणेश हिमाल पर्यटन विकास समिति, स्थानीय गाविस, जिविस तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बीच सहकार्य भएर सञ्चालन हुने गणेश हिमाल–मनास्लु पर्यटन विकास कार्यक्रम रु तीन करोड २० लाखको हुने र कार्यक्रम सञ्चालन अवधि पहिलो चरणमा तीन महिनाको हुने टानका अध्यक्ष रमेश धमलाले बताए ।

धादिङ र गोरखा जिल्लाको उत्तरी भेगमा पर्ने गणेश हिमाल–मनास्लु पर्यटन विकास कार्यक्रमअन्तर्गत पर्यटकीय पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिने भएको हो ।

काठमाण्डुमा आयोजित एक कार्यक्रमका बीच टान र सामथ्र्यका प्रतिनिधिबीच कार्यक्रम सञ्चालनका लागि दुई पक्षीय सम्झौता सम्पन्न भएको टानका कोषाध्यक्ष गोपालबाबु श्रेष्ठले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us