क्यासिनोलाई व्यवस्थित गर्न माग

काठमाण्डु टुडे २०७० चैत २१ गते १२:१४ मा प्रकाशित

casinoकाठमाण्डु, २१ चैत – होटल संघ नेपाल (हान)ले पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो क्यासिनोलाई व्यवस्थित गरेर सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

हानद्वारा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका अध्यक्ष विके श्रेष्ठले भने, “क्यासिनोको समस्या होटलबाट सिर्जना भएको होइन, पर्यटकका लागि यो क्षेत्र महत्वपूर्ण मनोरञ्जनको पाटो हो ।”

उनले राज्यको नीति नियममा बसेर क्यासिनोलाई सञ्चालन गर्दा सबै क्षेत्रलाई सहयोग पुग्ने भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

हानका उपाध्यक्ष सिर्जना रानाले क्यासिनो सञ्चालन गर्न सक्ने क्षमता भएकालाई प्रक्रिया पु¥याएर सञ्चालन गर्न दिनुपर्ने र सरकारलाई कर तिर्न नसक्ने क्यासिनोलाई बन्द गर्नुपर्ने बताए ।

हानका पूर्व अध्यक्ष स्याम एसएल कक्षपतीले नेपाल आउने ४० देखि ५० हजार पर्यटक क्यासिनोसँग सम्बन्धित रहेको उल्लेख गर्दै भने, “सबै क्यासिनो बन्द भएको अवस्थामा सरकार र होटल दुवैलाई असर पर्ने भएकाले यसलाई व्यवस्थित गर्नुपर्छ ।”

सो अवसरमा अध्यक्ष श्रेष्ठले सन् २०२० सम्ममा नेपालमा २० लाख पर्यटक भित्र्याउनका लागि पर्यटनसँग सम्बन्धित संस्थाहरू सरकारी निकाय, नेपाल पर्यटन बोर्ड र अन्य संघसंस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्ने उल्लेख गरे ।

उनले होटल संघको विस्तार र स्तरोन्नतिका लागि गैरसरकारी संस्थाहरूको सहभागितामा तालिम तथा गोष्ठी सञ्चालन गरी उदाहरणीय आतिथ्यता गर्ने कार्यलाई विकास गर्ने जानकारी दिए ।
होटलको विद्यमान संरचनाबाट करिब १० लाख पर्यटकमात्रलाई सेवा दिन सकिने भएकाले यस क्षेत्रको विस्तारका लागि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको लगानी आवश्यक रहेको उल्लेख गरिएको छ । त्यसका लागि सरकारी र निजी क्षेत्रले पहल लिनुपर्नेमा संघले जोड दिएको छ ।

पर्यटनसँग सम्बन्धित राष्ट्रिय नीति तथा नियमहरूलाई पुनरावलोकनका लागि उच्च सरकारी निकायसँग छलफल गरिने संघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us