कृषि सहकारीमार्फत पशुपालनमा सुलभ ऋण

काठमाण्डु टुडे २०७० चैत २० गते ११:०३ मा प्रकाशित

Goatकाठमाण्डु, २० चैत – नेपाल कृषि सहकारी केन्द्रीय संघले आफ्ना सदस्य संस्थामार्फत ग्रामीण साना किसानलाई सुलभ दरमा ऋण तथा कृषि प्रविधि उपलब्ध गराएर उत्पादनमा जोड दिएको छ ।

संघले नुवाकोट, धादिङ, काभ्रे, दोलखा, मकवानपुर, चितवनलगायतका ३० भन्दा बढी जिल्लाका २०० साना किसान कृषि सहकारी संस्थामार्फत विशेषगरी पशुपालनलाई केन्द्रित रु चार अर्ब बढीको सुलभ ऋण उपलब्ध गराएको हो ।

संघका अध्यक्ष खेमबहादुर पाठकले सरकार र विभिन्न बैंक तथा वित्तीय संस्थासँग संघले चार अर्ब ऋण लिएर पाँच प्रतिशतको ब्याजदरमा पशुपालक साना किसानलाई ऋण उपलब्ध गराएको जानकारी दिए ।

उनले देशलाई मासुमा आत्मनिर्भर र बेरोजगार युवालाई स्वरोजगार बनाउन सो ऋण फलदायी हुने विश्वास व्यक्त गरिन् ।

संघले आफ्ना सदस्य संस्थाका प्रतिनिधिलाई प्राविधिक रूपमा सबल बनाउनका लागि भारत, श्रीलङ्का लगायतका देशमा तालिमका लागि पठाएको जनाएको छ ।

त्यस्तै किसानका लागि आवश्यक पर्ने विभिन्न प्रविधिक उपकरण र ज्ञान उपलब्ध गराउँदै आएको छ । सङ्घले सरकारसँग सहकार्य गरेर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत साना किसानको ९४० घरधुरीमा सोलार जडान गर्न सहयोग गरेको थियो ।

साना किसान कृषि सहकारी संस्थाको छाता सङ्गठनका रूपमा विसं २०६४ देखि सङ्घले आफ्ना सदस्य संस्थालाई कृषि उत्पादन तथा उत्पादकत्वमा सहयोग उपलब्ध गराउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us