आजदेखि वीरगन्ज सुक्खा बन्दरगाह रेल सेवा बन्द

काठमाण्डु टुडे २०७० चैत २० गते ४:१४ मा प्रकाशित

Rail - nepalपर्सा, २० चैत – वीरगन्ज सुक्खा बन्दरगाहको रेल सेवा आजदेखि बन्द भएको छ ।

रक्सौल रेल्वे स्टेसनमा रेलको चाप बढेको भारतीय रेल्वेले चार दिनको लागि रेल सेवा बन्द गर्न बन्दरगाहलाई पत्र पठाएको हो ।

रेल्वेले सुक्खा बन्दरगाह व्यवस्थापनको जिम्मा दिएको हिमालयन टर्मिनललाई सो जानकारी पठाएको हो । रेल्वेको मध्यपूर्वी क्षेत्रीय कार्यालय हाजिपुरले बिहीबारदेखि चार दिनका लागि सेवा बन्द गरेको हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत बी. मोहनले जानकारी दिए ।

मोहनले भने ‘रक्सौलमा रेलको चापलाई कारण देखाएर सेवा बन्द गरिएको पत्र प्राप्त भएको छ । यसबाट आयातकर्तालाई असुविधा पर्ने भएकाले जतिसक्दो चाँडो विकल्प निकाल्ने प्रयासमा छौँ’ ।

भारतीय रेल्वेले विभिन्न कारण देखाएर रेल रोक्दा आयातकर्ताहरुले तेस्रो मुलुकबाट आयात गरेको कन्टेनरमा चर्को बिलम्ब शुल्क तिर्दै आउनुपरेको छ । गत माघयता यो क्रम ह्वात्तै बढेको छ ।

फागुनमा मात्र मर्मतका लागि भन्दै रेल सेवा अवरुद्ध भएपछि सुक्खा बन्दरगाहबाट आयातका लागि एलसी खोलेका ५९ कन्साइन्मेन्टले नाका परिवर्तन गरेका थिए ।

कोलकाता बन्दरगाहमा वीरगन्ज सुक्खा बन्दरगाहका लागि मात्र दैनिक २०० भन्दा बढी कन्टेनर आउने हिमालयन टर्मिनलले बताएको छ । रक्सौलमा भएको रेलको चापको समस्या समाधान नहुँदासम्म तेस्रो मुलुकबाट आउने कन्टेनरलाई ल्याउने व्यवस्था मिलाउन पहल भइरहेको प्रमुख कार्यकारी अधिकृत मोहनले बताए ।

भारतबाट आउने रेललाई तत्कालका लागि रोके पनि तेस्रो मुलुकबाट आउनेले चर्को जरिवाना बुझाउनुपर्ने भएकाले रोक्न नहुनेबारे छलफल भइरहेको जानकारी दिए ।

सिपिङ एजेन्सीले आयातकर्तालाई कोलकाता बन्दरगाहबाट वीरगन्जसम्म कन्टेनर पु¥याएर फिर्ता पठाउन १४ दिनको समय दिने गरेका छन् । चौध दिनभन्दा ढिला भएमा आयातकर्ताले एजेन्सीलाई जरिवाना तिर्नुपर्दछ । वीरगन्ज सुक्खा बन्दरगाहमा मासिक २० वटासम्म मालवाहक रेल आउने गरेको टर्मिनलले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us