मलेसियामा थप दुईलाख नेपालीलाई रोजगारी

काठमाण्डु टुडे २०७० चैत १९ गते १२:०२ मा प्रकाशित

Malesiaकाठमाण्डु, १९ चैत – मलेसिया सरकारले आगामी एकवर्षभित्रमा थप दुई लाख नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउने भएको छ ।

नेपाल र मलेसियाका उच्च सरकारी अधिकारीबीच बुधबार श्रम तथा रोजगार मन्त्रालयमा भएको वार्तामा मलेसियाले सुरक्षा, कृषि, र औद्योगिक क्षेत्रमा थप दुई लाख नेपाली कामदारलाई रोजगारीका अवसर दिने सहमति भएको हो ।

मलेसियाको श्रम मामिलासमेत हेर्ने त्यहाँका गृहमन्त्री डा अहमद जालिद हमिदी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको दुई मुलुकबीचको उच्चस्तरीय वार्तामा नेपाली श्रमिकको व्यवस्थापन, उनीहरूको सेवा सुविधालगायत विषयको समुचित सम्बोधन गर्न द्विपक्षीय कार्यदल गठनको सहमति पनि भएको छ ।

नेपाली श्रमिकलाई मलेसियामा सरलरुपमा बढी सङ्ख्यामा रोजगारीका अवसर उपलब्ध गराउने तथा उनीहरूलाई कुनै किसिमका समस्या हुन नदिन र समस्या उत्पन्न भए तत्काल त्यसको निराकरण गर्न पारस्परिक श्रम समझदारीमा प्रवेश गर्न पनि दुवै मुलुक राजी भएका छन् ।

चाँडोभन्दा चाँडो कार्यदलले समझदारीपत्रको खाका तयार गर्ने र त्यसलाई दुवै देशले औपचारिकता प्रदान गर्ने गरी आवश्यक गृहकार्य तत्काल प्रारम्भ गरिने राज्यमन्त्री गुरुङले बताए ।

‘श्रमिकका सुविधा, पारिश्रमिक, तलबभत्तालगायत सम्पूर्ण समस्याको सम्बोधन श्रम सम्झौता/समझदारीपत्रमा हस्ताक्षर गरेपछि हुनेभएकाले त्यसमा नै मन्त्रालय केन्द्रित रहेर काम गर्नेछ,’– उनले भने ।

नेपाली कामदारको उच्च नैतिकता, कामप्रतिको समर्पण एवम् इमानदारीका कारण मलेसियाले उनीहरूको प्रशंसा गरेको भन्दै राज्यमन्त्री गुरुङले आगामी तीन महिनाभित्र समझदारीपत्रमा हस्ताक्षर गर्ने गरी गृहकार्य थालिने बताए ।

मलेसिया प्रवेशाज्ञामा तीन दोब्बरभन्दा बढीले भएको वृद्धि, वैधानिक रुपमा त्यहाँ पुगेका श्रमिकको धरपकड, अध्यागमनमा झेल्नु परेको अमानवीय व्यवहार, रोजगारदाता कम्पनीका मनोमानीलगायत श्रमिकका सबै समस्या समाधान गर्न मलेसिया तयार रहेको प्रतिबद्धता वार्तामा व्यक्त भएको जानकारी दिँदै उहाँले मलेसियाली मन्त्रीले प्रस्ताव गरेको श्रमिकसम्बन्धी समझदारीपत्रबाट श्रमिक व्यवस्थापन सहज हुनेमा आफू आश्वस्त रहेको बताए ।

बन्दीगृह र कारागारमा रहेका नेपालीलाई न्यायोचित व्यवहार गरिने आश्वासन पनि मलेसियाले दिएको उनको कथन थियो । राज्यमन्त्री गुरुङले मन्त्री हमिदको भनाइ उद्धृत गर्दै भने, ‘नेपाली कामदारका सबै समस्या समाधान गर्न हामी गम्भीर भएर लाग्नेछौ ।’

मलेसियाले दक्ष कामदार लिन चाहेको र उनीहरूलाई कार्यक्षेत्रमा प्रवेश गर्नुअगावै नेपाल र मलेसियामा तालिमको व्यवस्था गर्न पनि मलेसिया सरकार तयार रहेको वार्तामा सहभागी मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले रबताए ।

मलेसिया–नेपाल व्यापार परिषद्मार्फत श्रमिकलाई तालिम दिइने र चाँडै नै तालिम केन्द्र स्थापना तथा सञ्चालन गर्न दुवै पक्ष सहमत भएको उनले बताए ।

मलेसियाले विगत १३ वर्षदेखि नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । हाल उक्त मुलुकमा झन्डै पाँच लाख नेपाली कार्यरत छन् । मलेसियाले बङ्गलादेशी कामदारमाथि प्रतिबन्ध लगाएपछि नेपाली श्रमिकको माग बढेको पनि राजदूत बस्न्यातले जानकारी दिए ।

उनका अनुसार सन् २०२० सम्ममा विकसित मुलुकको सूचीमा आफूलाई स्थापित गर्न मलेसियाले आफ्नो भौतिक एवम् आर्थिक विकासका गतिविधि सहजरुपमा सञ्चालन गर्न ठूलो सङ्ख्यामा आप्रवासी कामदारलाई रोजगारीका अवसर प्रदान गर्दै आएको छ । हाल उक्त मुलुकमा ३० लाख आप्रवासी कामदार छन् । नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

भारत र खाडी मुलुकपछि अधिक विप्रेषण आप्रवाह मलेसियाबाट हुँदै आएको छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको योगदान झण्डै २५.६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा विप्रेषण आयमा २६.६ प्रतिशतले वृद्धि भएको थियो ।

अघिल्लो आर्थिक वर्षमा रु ३ खर्ब ८८ अर्ब कुल विप्रेषण आप्रवाह भएकामा मलेसियाबाटमात्र करिब रु ३३ अर्ब भित्रिएको थियो ।

चालु आर्थिक वर्षको छ महिनामा मुलुकलाई रु दुई खर्ब ६५ अर्ब ‘रेमिट्यान्स’प्राप्त भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । औपचारिक माध्यमबाट प्राप्त हुने रकम मात्र यहाँ उल्लेख गरिएको छ । हुण्डीलगायतका माध्यमबाट पनि ठूलो रकम नेपाल भित्रिने गरेको छ । अनौपचारिक माध्यमबाट भित्रिने यो रकमले राजस्व उठ्तिमा पनि नकारात्मक प्रभाव परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us