त्रिचालिस सिँचाइ उपआयोजनाको निर्माण सुरु

काठमाण्डु टुडे २०७० चैत १९ गते ७:२३ मा प्रकाशित

ललितपुर, १९ चैत – कृषि उत्पादकत्व वृद्धि र खेतीयोग्य जमिनको समुचित उपभोग बढाउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत स्थापित ‘सामुदायिक सिँचाइ आयोजनाले चालु आर्थिक वर्षमा १२ जिल्लामा पहिलो प्राथमिकतामा परेका ४३ वटा उपआयोजनाको निर्माण कार्य सुरु गरेको छ ।

स्थानीय आवश्यकता र माग भएका २०८ वटा प्रस्तावको सम्भाव्यता अध्ययन गरी पहिलो चरणमा एक हजार ३३७ हेक्टर जमिनमा सिँचाइ गर्न ती उपआयोजना निर्माण थालिएको सामुदायिक सिँचाइ आयोजनाका प्रमुख इञ्जिनियर प्रकाश थापाले बताए ।

इञ्जिनियर थापाका अनुसार कपिलवस्तु, प्युठान र कञ्चनपुरमा दुई–दुई वटा, रुकुममा तीन वटा, दाङ, रोल्पा, सल्यान, कैलाली, जुम्ला र मुगुमा चार–चार वटा, बागलुङ र डोटीमा पाँच–पाँच वटा उपआयोजनाको सम्भाव्यता अध्ययन सकिएर निर्माण कार्य आरम्भ भइसकको छ ।

ती १२ जिल्लामै सिँचाइ सञ्चालनका लागि गाउँ परिषद्, इलाका भेला र जिल्ला परिषद्ले पास गरेका २३३ वटा उपआयोजनाको विवरण प्राप्त भएको र दोस्रो प्राथमिकतामा राखी सम्भाव्यता अध्ययन, सर्वेक्षणलगायतका काम भइरहेको जनाइएको छ ।

प्राप्त मागका आधारमा गरिएका सम्भाव्यता अध्ययनमा ११७ उपआयोजना बढी प्राथमिकतामा परेका छन् । ती उपआयोजनाबाट कम्तीमा तीन हजार ८३८ हेक्टर जमिनमा १२ महिना नै सिँचाइ पुग्ने आयोजनाका प्रमुख इञ्जिनियर थापाले बताए ।

उनले अघिल्लो वर्षदेखि निर्माणको काम चलिरहेको ३६ वटा उपआयोजना, यस वर्ष पहिलो र दोस्रो प्राथमिकतामा परेका उपआयोजना सञ्चालनका लागि चालू आर्थिक वर्ष २०७०÷०७१ का लागि ४० करोड रकम स्वीकृत भएको जानकारी पनि दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us