
काठमाण्डु, १८ चैत – यही चैत २९ देखि वैशाख ३ गतेसम्म तनहुँको बन्दिपुरमा पाँचौँ बन्दिपुर महोत्सव तथा राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ ।
महोत्सवबारे जानकारी गराउने उद्देश्यले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक एवम् बन्दिपुर सामाजिक विकास समितिका अध्यक्ष सुधा श्रेष्ठले बन्दिपुरको प्रतिष्ठा र गौरवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए ।
‘यसपालिको नयाँ वर्ष बन्दिपुरमा’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवबाट बन्दिपुर र यस आसपासको क्षेत्रलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापना गर्ने, यहाँको आन्तरिक र बाह्य पर्यटकको प्रचुर सम्भावनालाई देश विदेशमा प्रचारप्रसार गर्ने उद्देश्य रहेको उनको भनाइ थियो ।
मुकुन्द सेन दरबार, गडी, गुरुङ्चे डाँडा, थानीमाई, विन्धवासिनी, महादेव मन्दिर, गुम्बा, टँुडिखेल, पहाडपानी, तीनधारा महादेव, खड्गदेवी सहिद स्मारक, सिद्ध गुफालगायतका ऐतिहासिक महत्वका स्थलका लागि बन्दिपुर प्रख्यात छ ।
महोत्सव आयोजक समितिका सदस्य भीष्म श्रेष्ठका अनुसार महोत्सव अवधिमा देशका विभिन्न प्रसिद्ध साहित्यकारहरूको उपस्थितिमा राष्ट्रिय साहित्य सम्मेलनसमेत गरिने भएको छ ।
नेपाली साहित्यका क्षेत्रमा क्रियाशील प्रा डा वासुदेव त्रिपाठी, प्रा राजेन्द्र सुवेदी, मोदनाथ प्रश्रित, डा खगेन्द्र लुइँटेल, डा लक्ष्मण गौतमलगायतका साहित्यकारको महोत्सवमा सहभागिता रहने छ ।
सम्मेलनमा ‘नेपाली भाषा र साहित्यमा बन्दिपुर एवम् यहाँको योगदान’ र ‘नेपालको समुन्नतिमा साहित्य सिर्जनाको भूमिका’ विषयक दुई कार्यपत्र प्रस्तुत गरिनाका साथै विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन भई बन्दिपुर घोषणापत्र–२०७१ जारी गरिने छ ।
संयोजक श्रेष्ठका अनुसार महोत्सवबाट बचत भएको रकम बन्दिपुर क्षेत्रकै विकासका लागि उपयोग गरिने छ ।
नेपाल पर्यटन बोर्डका प्रतिनिधि लीला बानियाँले बन्दिपुर क्षेत्र आफँैमा पर्याप्त पर्यटकीय सम्भाव्यता बोकेको क्षेत्र भएको र महोत्सवले यस क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास लिइएको जानकारी गराए ।