‘हावापानी परिवर्तनले मानवजातिकै स्थायित्व जोखिममा’

काठमाण्डु टुडे २०७० चैत १७ गते १७:०९ मा प्रकाशित

संयुक्त राष्ट्रसंघको एउटा प्रतिवेदनमा हावापानी परिवर्तनका कारण पुरै विश्वमा गम्भीर, दीर्घकालीन तथा अपरिवर्तनीय असरहरु पर्ने सम्भावना निकै बढी रेहेको जनाइएको छ।

हावापानी परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानेलका प्रमुख राजेन्द्र पचौरीले वातावरणमा आउँदै गरेको परिवर्तन रोक्न केही नगर्ने हो भने त्यसले मानवजातिकै स्थायित्व जोखिममा पर्ने बताए।

बिग्रँदै गएको खाद्य सुरक्षाको अवस्था बढ्दै गएका बाढीका घटना तथा रोगव्याधीले विश्वको सुरक्षा र द्वन्द्वमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ। तर अझैपनि कतिपय परिवर्तनहरुसँग जुध्न सकिने प्रतिवेदनले औँल्याएको छ।

हावापानी परिवर्तनबारेको पछिल्लो उक्त प्रतिवेदनले मानव जातिले त्यसका प्रत्यक्ष बेफाइदाहरु भोग्न थालिसकेको जनाएको छ। “हरितगृह ग्याँस उत्सर्जन घटाउने पट्टि संसारले केही नगर्ने हो र हावापानी परिवर्तनको स्तर कायम रहने हो भने मानव जातिको सामाजिक स्थिरतानै जोखिममा पर्न सक्छ।”

राजेन्द्र पचौरी, प्रमुख, हावापानी परिवर्तनसम्बन्धी राष्ट्रसँघीय अन्तरसरकारी प्यानल प्रतिवेदनले त्यसका असरहरुबारे दह्रो प्रमाणहरु पेश गरेको उक्त राष्ट्रसँघीय प्यानलका सदस्यहरुले बताएका छन्।

जापानको योकोहामामा भेला भएका वैज्ञानिक तथा अधिकारीहरुले हावापानी परिवर्तन र त्यसका असरहरुबारे उक्त प्रतिवेदन हालसम्मकै सबभन्दा विस्तृत भएको जनाएका छन्।एक सातासम्मको सघन छलफलहरुपश्चात उक्त प्रतिवेदन योकोहामाको बैठकले स्वीकारेको थियो।

प्रतिवेदनको सारांशमा हरितगृह ग्याँस उत्सर्जनका कारण बढ्दो तापमानले गर्दा हाम्रा स्वास्थ्य बासस्थान खानेकुरा तथा सुरक्षा सबै प्रभावित हुने जनाइएको छ।

हावापानी परिवर्तनसम्बन्धी राष्ट्रसँघीय अन्तरसरकारी प्यानलका प्रमुख राजेन्द्र पचौरीले भने, “हरितगृह ग्याँस उत्सर्जन घटाउने पट्टि संसारले केही नगर्ने हो र हावापानी परिवर्तनको स्तर कायमै रहने हो भने मानव जातिको सामाजिक स्थिरतानै जोखिममा पर्न सक्छ।”

हिमनदी पग्लने समुद्रहरु थप अम्लीय बन्दै जाने अनि जमीनमा पनि जनावर र बोटबिरुवा तापमान वृद्धिका कारण झन झन माथिमाथि सर्दै जाने जस्ता असरहरु पर्ने प्रतिवेदनमा उल्लेख छ।त्यस्तै सन् २०५० सम्ममा गहुँ, धान तथा मकैबालीहरुको उत्पादनमा एक चौथाईजतिले कमी आउने बताइएको छ।

जबकि त्यतिखेर सम्म विश्वको जनसँख्या ९ अर्ब पुग्न सक्छ।पानी तात्दै जाँदा एन्टार्क्टिका लगायत कतिपय स्थानमा माछाहरुको उपलब्धता ५० प्रतिशतले घट्नेछ। बाढी तथा उच्च तापमानका कारण हुने मृत्युबाट मानिसहरु प्रभावित हुनेछन्।

नेपालको वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका सहसचिव प्रकाश माथेमाले भने, “अति कम विकसित मुलुक र साना टापुहरुलाई बढी असर गर्ने हो। डरलाग्दो स्थिति छ। तयारी अहिले नै गरिएन भने गरीब मुलुकहरु भुक्तभोगी हुनु पर्छ।”

अल्पकालमा गरीब देशहरु बढी प्रभावित हुने देखिएपनि पछि गएर धनी देशहरुपनि प्रभावित हुने प्रतिवेदनले जनाएको छ। हावपानी परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टि हुने भएपछि बाढीको प्रकोप र सुख्खाको खतरा बढ्न सक्नेछ BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us