
विराटनगर, १७ चैत – सुनसरी जिल्लाको अमाहीबेलामा रहेको इस्टर्न सुगर मिलले यस वर्ष उखु खरिदबापत किसानलाई माघ मसान्तसम्ममा ३० करोड भुक्तानी गरिसकेको छ ।
विसं २०७० वैशाख अन्तिम हप्तासम्म उखुको खरिद गर्दा क्रसिङ गर्ने सो मिलले कुल रु ४० करोड किसानलाई भुक्तानी दिने अनुमान गरेको छ ।
सरकारले प्रतिक्विन्टल उखु खरिदबापत ४८१ निर्धारण गरे पनि मिल व्यवस्थापनले अग्रिम भुक्तानीका रुपमा प्रतिक्विन्टल रु ४०० का दरले किसानलाई भुक्तानी गरिरहेको बताएको छ ।
मिलका वरिष्ठ उखु प्रबन्धक सुरेश मेहताका अनुसार सरकार, मिल तथा किसानबीच उखु खरिदसम्बन्धी मूल्य निर्धारण यस वर्ष हालसम्म नभएकाले ४०० का दरले किसानलाई भुक्तानी भइरहेको र निर्धारण भएअनुसार पछि सम्पूर्ण रकम उपलब्ध गराउने बताए ।
सो मिलले हालसम्म १८ लाख २० हजार क्विन्टल उखु क्रसिङ (पेल्ने) काम गरिसकेको तथा करिब नौ लाख क्विन्टल थप उखु क्रसिङ गर्ने अनुमान गरेको छ ।
दैनिक २३ देखि २५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको सो मिलले मंसिरदेखि उखु क्रसिङ गरिरहेको छ ।
सुनसरी र मोरङमा १२ हजार बिघा जमिनमा उखुखेती गरिएको छ भने ती दुवै जिल्लामा सात हजार सात सय उखु किसान रहेका छन् ।
यस वर्ष सुनसरी तथा मोरङका करिब ८०० बिघा उखु खेतीमा रोग लागेको जसमध्ये किसानले केही नष्ट गरे भने बाँकी रहेको उखु मिलमा बिक्री गरेको बताइएको छ ।