
सप्तरी, १६ चैत – समयमा वर्षा भएकाले सप्तरीमा यस वर्ष गहुँबाली उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।
मौसम अनूकुल भएको तथा गहुँबालीमा रोग किराको प्रकोप कम भएकाले यस वर्ष गहुँ उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
यस वर्ष २० हजार हेक्टर क्षेत्रफलमा लगाएको गहुँबालीबाट प्रतिहेक्टर २.४ मेट्रिक टनका दरले ४८ हजार मेट्रिक टन गहुँ उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिए ।
गहुँबाली लगाउने बेलामा वर्षा भएको र माघ फागुन महिनामासमेत वर्षा भएकाले गहुँबाली उत्पादनमा वृद्धि हुने अनुमान गरिएको प्रमुख यादवले बताए ।
गत वर्ष १५ हजार हेक्टरमा लगाएको गहुँबालीबाट प्रतिहेक्टर २.० मेट्रिक टनका दरले ३० हजार मेट्रिक टन उत्पादन भएको थियो ।