पेट्रोलियम पदार्थको मूल्य व्यवस्थित हुने विश्वास

काठमाण्डु टुडे २०७० चैत १५ गते १२:२५ मा प्रकाशित

petrolकाठमाण्डु, १५ चैत – नेपाल आयल निगमको व्यवस्थापन र पेट्रोलिय पदार्थको मूल्यवृद्धिका विषयमा व्यवस्थापिका–संसद्बाटै पहल लिने भएपछि विद्यमान समस्याको समाधान दीर्घकालीन रूपमा हुने विश्वास लिइएको छ ।

संसद्ले शुक्रबार गठन गरेको ११ सदस्यीय ‘संसदीय अध्ययन तथा सुझाव समिति’ले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थित गर्न ठोस नीति ल्याउने नेपाल आयल निगमले विश्वास लिएको हो ।

निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘संसदीय समितिले निगम र मूल्यवृद्धिका विषयमा समस्याको दीर्घकालीन समाधानसहितको ठोस नीति ल्याउने छ भन्ने विश्वास छ ।’

उनले आगामी दिनमा निगम र राज्यलाई भार नपर्ने र बारम्बार हुने विरोध र हड्ताललाई सम्बोधन गर्ने गरी मूल्य व्यवस्थापन हुनेमा निगम विश्वस्त रहेको बताए ।

प्रवक्ता घिमिरेले वैशाखको पहिलो सातादेखि घरायसी प्रयोजनका लागि रातो र औद्योगिक प्रयोजनका लागि निलो रङको ग्यास सिलिन्डर अनिवार्य गरी मूल्य समायोजन गर्ने कार्य स्थगित हुने जानकारी दिए ।

संसदीय समितिको प्रतिवेदन नआउँदासम्म निगमले पेट्रोलियम पदार्थको मूल्यमा कुनै हेरफेर गर्न नसकिने भएकाले आगामी मूल्य निलो रङको ग्यास सिलिन्डर परल मूल्यमा (दुई हजार २३४) बिक्री गर्ने कार्य केही समयका लागि स्थगित हुने भएको हो ।

प्रवक्ता घिमिरेका अनुसार यही चैतको अन्त्यसम्ममा उद्योगी तथा व्यवसायीले निलो रङको ग्यास सिलिन्डर अनिवार्य रूपमा प्रयोग गर्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us