कृषिको व्यवसायीकरणमा प्राथमिकता दिनुपर्छ : मन्त्री पराजुली

काठमाण्डु टुडे २०७० चैत १३ गते ११:४० मा प्रकाशित

काठमाण्डु, १३ चैत – कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा विहीबार देखि भृकुटीमण्डपको प्रदर्शनी हलमा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनीको उद्घाटन गर्दै उनले कृषि क्षेत्रको स्तरोन्नतिबाट नै समृद्ध नेपाल सम्भव भएको बताए ।

सरकारी पक्षबाट गर्नुपर्ने पूर्वाधार विकासमा लगानी एवम् निजी क्षेत्रको अभिवृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री पराजुलीले पुष्प व्यवसायलाई व्यवस्थित गरेर लैजानुपर्नेमा उनको जोड छ ।

नेपालको पुष्प व्यवसायमा गुणात्मक परिवर्तन गर्नसके अन्तर्राष्ट्रिय बजारमा हाम्रो उत्पादन बिक्री वितरण गर्न सकिने उनले बताए ।

कृषि विकास मन्त्रालयका सहसचिव विजयकुमार मल्लिकले पुष्प व्यवसायको गुणस्तर सुधारी अन्तर्राष्ट्रियकरण गर्न सके विदेशी मुद्रा आर्जन गर्ने आधार बन्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष भवानी राणाले नेपालको जैविक विविधतालाई ध्यान दिँदै पर्यटन व्यवसाय र पुष्प व्यवसायलाई जोडेर विकासलाई अघि बढाउन सकेमा आर्थिक वृद्धि गर्न सकिने धारणा व्यक्त गरे ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष कुमार कसजु श्रेष्ठले रोजगारीको खोजीमा विदेशिएका युवापुस्तालाई स्वदेशमै लगानी गरी आम्दानी गर्न सक्ने दरिलो स्रोतका रूपमा पुष्प व्यवसायलाई लिनुपर्ने बताए ।

कार्यक्रममा मेलामा सहभागी भएका विभिन्न नर्सरीमध्येबाट सात वटा कक्षलाई सिल्ड तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । यही चैत १६ गतेसम्म चल्ने प्रदर्शनीमा व्यावसायिक कक्ष ५९ वटा, सूचनामूलक १५ वटा र अन्तर्राष्ट्रिय सहभागिता कक्ष २१ वटा गरी जम्मा ९५ कक्ष रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us