प्रधानमन्त्रीसँग विश्व बैंकका उपाध्यक्षको भेट

काठमाण्डु टुडे २०७० चैत १३ गते १०:४५ मा प्रकाशित

काठमाण्डु, १३ चैत – प्रधानमन्त्री सुशील कोइरालासँग विश्व बैंकका उपाध्यक्ष(दक्षिण एसिया) फिलिप ल हौरौले विहीबार दिउँसो भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको वार्तामा प्रधानमन्त्री कोइरालाले विश्व बैंकले नेपाललाई खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा गरेको सहयोगको सराहना गर्दै सहयोगलाई विशेष महत्व दिएको बताए ।

कोइरालाले संविधानसभाको निर्वाचन, नयाँ सरकारको गठन र यसका नीति तथा कार्यक्रमको चर्चा गर्दै एक वर्षभित्र संविधान ल्याउन प्रतिवद्ध रहेको दावी गरे ।

साथै आफ्नो सरकारले भ्रष्टाचाररहित सुशासनलाई जोड दिने उनको भनाइ थियो । प्रधानमन्त्री कोइरालाले पूर्वाधार र आर्थिक–सामाजिक विकासमा जनताको अधिक चासो रहेको र आफ्नो पार्टीले झन्डै छ दशकसम्म देशको विकास जनताको सुखसमृद्धिका लागि लडेकाले विकासलाई तीव्र बनाउन आतुर रहेको बताए ।

सो अवसरमा हौरौले जनशक्ति पनि नेपालको ठूलो स्रोत भएकाले त्यसको सही विकासबाट नेपालले ठूलो लाभ पाउन सक्ने जनाउँदै प्रधानमन्त्री कोइरालाको नेतृत्वको सरकारसँग नेपालको विकासमा साझेदारी गर्न पाउँदा दशकसम्मका लागि आफू झन् आशावादी भएको बताएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us