
काठमाण्डु, ११ चैत – अर्थमन्त्री डा रामशरण महतले राजस्व सङ्कलनमात्र नभई देशको अर्थतन्त्रलाई माथि उठाउन जिम्मेवारीपूर्ण तवरले लाग्न मन्त्रालयसँग सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन् ।
राजधानीमा मंगलबार आयोजित भन्सार व्यवस्थापन तथा मूल्याङ्कन गोष्ठीको उद्घाटन गर्दै उनले व्यावसायिक रूपमा आफ्ना जिम्मेवारीलाई पूरा गर्ने हो भने हालको अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री डा महतले भन्सार र राजस्वलाई व्यवस्थित गर्न सकेमा सरकारले राखेको लक्ष्य प्राप्त गर्न सकिने बताउँदै त्यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
अर्थसचिव शान्तराज सुवेदीले व्यवसायी इमान्दार र पारदर्शी भएको अवस्थामा मूल्याङ्कनमा राज्यले हस्तक्षेप गर्न आवश्यक नपर्ने भए पनि त्यसो हुन नसकेको बताए ।
उनले भने, ‘भन्सारको कम मूल्याङ्कन गर्नु राजस्व चुवाहट हो, त्यसलाई बढवा दिनु भ्रष्टाचार हुने भएकाले राज्यले त्यस्ता सार्वजनिक अपराध हुन दिँदैन ।’
कार्यक्रममा अर्थमन्त्रालय राजस्व महाशाखाका प्रमुख राजन खनाल, भन्सार विभागका महानिर्देशक सूर्यप्रसाद आचार्य, आन्तरिक राजस्व विभागका महानिर्देशक टङ्कमणि शर्मा र राजस्व अनुसन्धान विभागका महानिर्देशक खुमराज पुञ्जालीले कर्मचारीहरूलाई राजस्व, भन्सार र सुरक्षा निकायबीचमा समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
तीन दिनसम्म चल्ने सो गोष्ठीमा देशभरिका २० वटा भन्सार कार्यालय र १४३ वटा छोटी भन्सार कार्यालयका कर्मचारीहरूको सहभागिता छ ।