क्रिकेट प्रशिक्षक पुबुदुको सम्झौता एक वर्ष थपियो

काठमाण्डु टुडे २०७० चैत ११ गते १:३५ मा प्रकाशित

pubuduकाठमाण्डु, ११ चैत –नेपाली टोलीका प्रशिक्षक पुबुदु दासनायकेको कार्यकाल एक वर्ष थपिने भएको छ ।

पुबुदुको कार्यकाल थप गर्ने निर्णय गरिएको जानकारी नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले दिए ।

पानीपोखरीस्थित नेपाल क्रिकेट संघ क्यानमा बसेको पदाधिकारीहरुको बैठक पुबुदुलाई थप एक वर्षका लागि नेपाली टोलीको प्रशिक्षणको जिम्मेवारी सुम्पने निर्णयमा पुगेको हो ।

सोमबार राति अबेरसम्म बसेको बैठकमा उनले नेपाली टोलीलाई दिलाएका सफलतासँगै उनका कमजोरीका बारेमा पनि लामो छलफल चलेको थियो ।

बैठकपछि जनसवालसँग टेलिफोन कुराकानी गर्दै क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भने, ‘ उहाँको कार्यकालका विषयमा कुरा भयो ।

छोटकरीमा भन्नुपर्दा १ वर्ष सम्झौता थप गर्ने निर्णय भएको छ ।’ महासचिवले बैठकमा पुबुदुलाई राख्ने वा हटाउने भन्ने बहस चलेको स्विकारे ।

तर नेपाली टिमलाई एकपछि अर्को सफलता दिलाएका प्रशिक्षकको निरन्तरताका सम्बन्धमा यत्तिको बहस आवश्यक थियो या थिएन भन्ने विषयमा उनले केही खुलाएनन् ।

यसअघिको कार्यकालमा नेपाली टोलीको विश्वकप छनोटलाई प्रमुख लक्ष्य बनाएका पुबुदुले नयाँ कार्यकालमा भौतिक पूर्वाधार र क्रिकेट विकासमा ध्यान दिने बताएका छन् ।

तर उनको निरन्तरतादेखी डराएका केही व्यक्तिहरुले पुबुदु अस्विकार्य रहेको बताएपछि नयाँ विषयले चर्चा पाएको थियो ।
नेपाली टिमका एक प्रशिक्षक भन्छन्, ‘ उनले खेलाडीलाई मैत्रिपूर्ण व्यवहार गर्ने गरेका छन् ।

टिमका सबै खेलाडीमात्रै होइन राष्ट्रियस्तरका प्रशिक्षकहरु समेत पुबुदुसँग खुसी छन् । उनले चयन गरेका खेलाडीहरुले राष्ट्रिय टिमबाट राम्रो नतिजा समेत निकालेका छन् । त्यसका बाबजुद उनी अस्विकार्य हुनु आफैँमा रहस्यको विषय हो ।’

पुबुदुको निरन्तरताका विषयमा प्रश्न उठ्नुसँग यस्तै धेरै रहस्यहरु जोडिएका छन् ।

जसका बारेमा न त पुबुदुले बोलेका छन् न खेलाडी वा राष्ट्रिय स्तरका प्रशिक्षकहरुले नै खुलेर बोल्न सक्छन् ।

नाम नछाप्ने शर्तमा एक प्रशिक्षक भन्छन्, ‘ आर्थिक पाटो यससँग जोडीएको सबैभन्दा ठूलो विषय हो । त्यस्तै खेलाडी चयनको विषय अर्को हो ।’ नेपाल क्रिकेट संघका लामो समयदेखी राजनिति गर्दै आएका व्यक्तिहरुको हालीमुहाली पुबुदुको आगमनसँगै घटेको छ ।

dasanayakeउनको आगमनपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै आएको छ ।

त्यस्ता सफलतासँगै जनताको चासो क्रिकेटप्रति दिनप्रतिदिन बढ्दै छ ।

त्यसैले अब क्रिकेट कोही एक्लो व्यक्तिको खेल रहेन । क्रिकेटमा लामो समयदेखी हालीमुहाली गर्दै आएका व्यक्तिहरु भने जनतस्तरमा यसको बढ्दो प्रभावबाट बिस्थापित हुन सकिने डरमा छन् ।

खेलाडी चयनका समयमा पुबुदुले प्रयोग गरेको अधिकार उनीहरुका लागि अर्को टाउको दुःखाईको विषय हो ।

यसअघि पुबुदुले नेपाली टिममा सोमपाल कामी र जीतेन्द्र मुखियालाई रातारात मौका दिएका थिए ।

असन्तुष्ट समूहलाई त्यसको गतिलो जवाफ फर्काउँदै कामी र मुखियाले विश्वकपमा पनि लोभलाग्दो प्रदर्शन गरे ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)बाट नेपाललाई प्राप्त हुने हरेक सहयोगका बारेमा पुबुदु जानकार छन् ।

त्यसैले रहस्यमै राखेर त्यस्तो सहयोग रकममा मस्ती गर्न खोज्नेका लागि पनि पुबुदु सबैभन्दा ठूलो टाउको दुखाई हुन् ।

उनले नेपाल सरकारसँग मात्रै होइन आईसिसीसँग पनि नेपाली क्रिकेटको विकास र प्रवद्र्धनका लागि पहल गर्ने गरेका छन् ।

नेपाली टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा पछिल्लो पटक गरेको उत्कृष्ट प्रदर्शनका कारण नेपाललाई राम्रा प्रतियोगिता आयोजनाको अवसर मिल्नेछ ।

तर त्यसका लागि देशमा आवश्यक भौतिक पूर्वाधार जोड्नुपर्ने हुन्छ ।

यसअघि विश्वकपलाई प्रमुख लक्ष्य बनाउँदै त्यसैको रटान लगाएका पुबुदुले आफ्नो नयाँ कार्यकालमा भौतिक पूर्वाधार र घरेलु लिगलाई प्राथमिकतामा राखेका छन् ।

तर नाम चलेका एक खेलाडीकै बुझाईमा, ‘भौतिक पूर्वाधारका लागि सरकारबाट प्राप्त हुने रकममा हुने चलखेल पुबुदुकै कारण बन्द हुनसक्छ । त्यसैले उनलाई बिस्थापित गर्न खोजिएको हो ।’ नेपालमा घरेलु लिग नहुँदा क्रिकेटको बढ्दो लोकप्रियता कतिन्जेल टिक्छ भन्ने प्रश्न तेर्सिएको छ ।

यस्तो परिस्थितिमा प्रशिक्षक पुबुदु भने आफ्ना योजनाहरु कार्यान्वयन गर्न सक्ने अवस्थामा मात्रै प्रशिक्षण सम्हाल्ने मनस्थितिमा छन् ।

उनले नेपाली टिमले टि–ट्वान्टी विश्वकप खेलेर फर्केपछि एयरपोर्टमै क्रिकेट संघको रवैयाबाट सन्तुष्ट नरहेको प्रतिक्रिया दिएका थिए ।

पुबुदुको योजना कार्यान्वयन हुनसके नेपाली क्रिकेटले पक्कै पनि नयाँ उचाई हात पार्नेछ ।

तर त्यसपछि नेपाली क्रिकेटको शक्तीकेन्द्रमा रहेका धेरै व्यक्ति अफ्टेरो अवस्थामा पुग्नसक्छन् ।

त्यसैले यतिबेला पुबुदुको निरन्तरताको विषयले नेपाल क्रिकेट संघको जरो हल्लाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us