संविधानमा सहकारीको भूमिका खोजिने

काठमाण्डु टुडे २०७० चैत १० गते ८:३० मा प्रकाशित

काठमाण्डु, १० चैत – सहकारीलाई नयाँ सोच र दृष्टिकोणबाट सञ्चालन गर्ने उद्देश्यले पहिलो पटक मंगलबारदेखि काठमाण्डुमा राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ ।

चैत ११–१३ गतेसम्म आयोजना हुने महासम्मेलनको उद्घाटन राष्ट्रपतिले दशरथ रङ्गशालामा गर्ने कार्यक्रम छ । सहकारी तथा गरिबी निवारण मन्त्रालय, सकारी विभाग र राष्ट्रिय सहकारी सङ्घको संयुक्त आयोजनमा हुने महासम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ (आइसिए) का अध्यक्ष डोम पाएलिन ग्रिनलेसमेत सम्बोधन गर्नेछन् ।

मङ्गलबार बिहान ¥याली प्रदर्शन गर्दै दशरथ रङ्गशालामा प्रवेश गर्ने कार्यक्रम तय भएको राष्ट्रिय सहकारी सङ्घ महासम्मेलन सचिवालयका सञ्चार संयोजक बाबुल खनालले जानकारी दिए ।

आइसिएका अध्यक्ष ग्रिन सोमबार राजधानी आइसकेका छन् ।

महासम्मेलनमा ६७ जिल्लाका ८६८ सहकारीकर्मीको प्रत्यक्ष सहभागिता हुने बताइएको छ । चैत १२ र १३ गते सहकारीका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछ ।

सहकारीमा देखिएका विभिन्न विकृतिको समाधान गर्दै संविधानमा सहकारीको भूमिकालाई महत्वपूर्ण स्थान दिन र सहकारीको भावी रणनीतिलगायत विषयमा जानकारी दिने तथा सुझाव सङ्कलन गर्ने उद्देश्यले महासम्मेलन आयोजना गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us