क्रिकेटर र क्रिकेटको अपमान गरेको छैन: गजुरेल
काठमाण्डु टुडे
२०७० चैत ९ गते ११:४५ मा प्रकाशित
काठमाण्डु, ९ चैत– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले आफूले नेपाली राष्ट्रिय टिमको अपमान हुने गरी अभिव्यक्ति
नदिएको दाबी गरेका छन् ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै गजुरेलले आफूले क्रिकेट खेल र नेपाली टोलीको सम्मान गर्ने बताएका छन् । उनले विज्ञप्ति आफूले बोलेका कुरा नबुझेर सञ्चार माध्यमले उल्टो प्रचार गरेको आरोप लगाएका छन् ।
राजधानीमा शनिबार भएको एक कार्यक्रममा गजुरेलले मुलुक क्रिकेटले नभई राजनीतिले चलाउने भन्दै क्रिकेटले विक्रिती फैलाएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।
‘मैले बोल्दा बंगलादेशमा जारी टी ट्वेन्टी वल्र्डकप क्रिकेटमा राम्रो प्रदर्शन गरेको नेपाली टीमलाई बधाई दिएको थिएँ’, गजुरेलले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘उहाँहरुको अपमान हुने कुनै कुरा बोलेको छैन ।’
उनले राजनीतिमा विद्यमान विक्रितिलाई बोलेको विषयलाई क्रिकेटसँग जोडेर कूप्रचार गर्ने गलत प्रयास भएको उनको भनाइ छ । त्यस्तो लगत प्रचारबाट नेपाली क्रिकेट खेलाडी र क्रिकेटप्रेमीमा पर्न गएको चोटप्रति आफू अत्यन्त दु:खी भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस वक्तव्यको पूर्ण पाठ
हिजो मैले एउटा कार्यक्रममा क्रिकेट खेल र नेपाली क्रिकेट टीमबारे गरेको टिप्पणी भनेर केही ब्लग र अनलाइनहरुले गरेको गलत प्रचारबारे हाम्रो ध्यानाकर्षण भएको छ ।
सर्वप्रथम, मैले बोल्दा बाङ्ग्लादेशमा चलिरहेको क्रिकेट खेलको टी ट्वेन्टी वल्र्ड कपमा राम्रो प्रदर्शन गरेको नेपाली टीमलाई बधाई दिएको छु । उहाँहरुको अपमान हुने कुनै कुरा बोलेको छैन । दोस्रो कुरा, मैले उक्त कार्यक्रममा राजनीतिक क्षेत्रमा भएको विकृतिको जुन चर्चा गरेको थिएँ, त्यो ‘विकृति’ भन्ने शब्दलाई ‘वल्र्ड कपमा नेपालको गौरव कायम गरी फर्केको नेपाली टीमलाई सम्मान गर्नु विकृति हो’ भन्ने अर्थ लगाई मैले बोलेको भनेर कुप्रचार गर्ने जुन प्रयास भएको छ, त्यो एकदम गलत छ । यसप्रति म खेद व्यक्त गर्दछु ।
यो गलत प्रचारबाट हाम्रा नेपाली क्रिकेट खेलाडीहरु र क्रिकेटप्रेमी नेपाली युवाहरुलाई जुन चोट पुगेको छ, त्यसको निम्ति म अत्यन्त दुःखी छु ।
मितिः २०७०/१२/९
सी.पी. गजुरेल ‘गौरव’