कैलालीमा झण्डै ६ सय विद्यार्थी एसएलसी दिनबाट वञ्चित

काठमाण्डु टुडे २०७० चैत ९ गते १०:५७ मा प्रकाशित

धनगढी, ९ चैत– प्रवेशिका (एसएलसी) परीक्षा दिन आवेदन फारम भरेका कैलाली जिल्लाका ५ सय ९२ परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

वर्षभरिमा विद्यालयमा पठनपाठन हुने १ सय ९२ दिनमध्ये ७५ प्रतिशत अर्थात् १ सय ४४ दिन हाजिरी नहुने छात्रछात्रा एसएलसी परीक्षाका लागि अयोग्य मानिने शिक्षा नियमावलीले व्यवस्था गरेकाले ७५ प्रतिशत हाजिरी नहुने यी विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक जयदेव महराले बताए ।

एसएलसी परीक्षाका लागि दुई ठाउाबाट आवेदन फारम भर्ने, निजी बोर्डिङ विद्यालयहरु कतिपयले शतप्रतिशत नतिजा निकाल्न आवेदन भर्न लगाएर पनि कतिपय विद्यार्थीलाई परीक्षा दिनबाट रोक्ने लगायतका कारण कैलालीमा यति ठूलो सङ्ख्यामा परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएको जनाइएको छ ।

विद्यालयले समयमै एसएलसी परीक्षा दिने परीक्षार्थीको विवरण शिक्षा कार्यालयमा नपठाएका कारणले पनि कतिपय विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

शिक्षा कार्यालयले फागुन १५ सम्म सबै परीक्षार्थीको विवरण शिक्षा कार्यालयमा पठाउन परिपत्र गरेकामा केही विद्यालयले समयमै विवरण नपठाएकाले कतिपय योग्य विद्यार्थीले पनि परीक्षा दिन नपाएको जनाइएको छ ।

विद्यालयमा नियमित हाजिर भई अध्ययन गरेकामा आफूहरु परीक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै केही विद्यार्थी शिक्षा कार्यालयमा आएको महराले बताए ।

परीक्षाका लागि आवेदन फारम भरेकामध्ये १९ हजार ६४९ परीक्षार्थी भने परीक्षामा सहभागी भएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us