चीन दक्षिण एसिया व्यापार मेलामा नेपाललाई निम्तो

काठमाण्डु टुडे २०७० चैत ९ गते १०:१६ मा प्रकाशित

काठमाण्डु, ९ चैत– नेपाल भ्रमणमा रहेका चीनको दक्षिण–पश्चिमी प्रान्त युनानका गभर्नर ली झिहेङले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसाग आइतबार अपराह्न परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरे ।

त्यस अवसरमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । कृषि क्षेत्रको विकासमा युनानले हासिल गरेको उपलब्धि नेपालका निम्ति लाभदायक हुने उल्लेख गर्दै यसै वर्ष राजधानी कुनमिङमा हुने ‘दोस्रो चीन दक्षिण एसिया व्यापार मेला’मा सहभागी हुन गभर्नर लीले आफूलाई आमन्त्रण गरेको मन्त्री पाण्डेले बताए ।
कृषि उद्यममा आधारित उद्योगको विकासलगायत विविध औद्योगिक सामग्रीको प्रदर्शनी मेलामा हुने भएकाले चिनियाँ अनुभव नेपालका निम्ति पनि सहयोगी हुने आशय व्यक्त गर्दै गभर्नर लीले आफ्नो उपस्थिति अपेक्षा गरेको परराष्ट्रमन्त्रीले बताए । नेपालको पर्यटन, आर्थिक, सामाजिक, शिक्षाको विकासमा चीनले सघाइरहने प्रतिबद्धता व्यक्त गर्दै उनले अत्यन्त निकटको छिमेकी नेपालको समृद्धि चीनले चाहेको अभिव्यक्ति गभर्नरले दिएको उल्लेख गरे ।

विश्वको दोस्रो आर्थिक शक्तिका रुपमा उदाएको चीनबाट नेपालले अधिकभन्दा अधिक फाइदा लिनुपर्ने मान्यताका साथ आफूहरु आर्थिक विकासमा लागेको जानकारी आफूले गराएको उनले बताए । काठमाडौँ र कुनमिङबीच प्रत्यक्ष हवाई वृद्धिसँगै चिनियाँ पर्यटक बढाउन पनि आफूले सहयोग गर्ने गभर्नर लीको भनाइ थियो ।

प्रधानमन्त्री सुशील कोइरालालाई ‘दोस्रो चीन दक्षिण एसिया व्यापार मेला’ मा आमन्त्रण गर्न गभर्नर ली शनिबार अपराह्न नेपाल भ्रमणमा आएका थिए । भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई र भ्रमण दलका अन्य सदस्य सहभागी थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us