एमालेभित्र सरकारको चर्को आलोचना

काठमाण्डु टुडे २०७० चैत ९ गते ९:३५ मा प्रकाशित

uml officeकाठमाण्डु, ९ चैत – नेकपा एमाले संसदीय दलको बैठकमा सरकारको कार्यशैलीप्रति चर्को आलोचना भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभासदहरुले सरकारले संसदलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएका हुन ।

उनीहरुले सरकारको नीति तथा कार्यक्रम तत्काल संसदमा पेश गर्न माग गरे । सरकारले नीति तथा कायक्रम ल्याउँदा संसदलाई छलेको भन्दै उनीहरुले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग स्पष्टीकरण सोध्न नेतृत्वलाई दबाब दिएका छन् ।

पार्टीका काम कारबाही पनि नीति र पद्धतिभन्दा बाहिर गएर व्यक्ति केन्द्रित हुन थालेको टिप्पणी उनीहरुको थियो । संसदीय दलका नेता छानिएपछि पार्टी गतिविधि झन सुस्त बनेको आरोप समेत सभासदले लगाएका छन् ।
नेतृत्वको चर्को आलोचना भएपछि अध्यक्ष झलनाथ खनालले विधान संशोधनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएकाले त्यसैमा केन्द्रित भएर सुझाव दिन सभासदलाई निर्देशन दिएका थिए ।

एमालेमा संसदीय दलको नेतामा केपी ओली निर्वाचित भए पनि उपनेता अझै चुनिएको छैन । स्रोतका अनुसार सचिव विष्णु पौडेललाई उपनेता बनाउने तयारी छ ।

यसैबीच बैठकले संसदीय दलको विधान परिमार्जन गर्न सुझाव सङकलनका लागि विकास क्षेत्रअनुसार पाँच समूह निर्माण  गरेको छ ।
पूर्वाञ्चल विकास क्षेत्रका लाथि भानुभक्त ढकाल, मध्यमाञ्चलका लागि सुरेन्द्र पाण्डे, पश्मिाञ्चलका लागि गोकर्ण विष्ट, मध्यपश्चिमाञ्चलका लागि देवराज भार र सुदूरपश्चिमाञ्चलका लागि भीमबहादुर रावललाई सुझाव संकलन समितिको संयोजक तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us