
काठमाण्डु, ९ चैत – नेपाली क्रिकेट इतिहासमा सफल प्रशिक्षकको सूचिमा पर्छन अहिलेका पुबुदु दसानायके ।
दसानायकेले सम्हाले यता नेपाली क्रिेकटले छलाङ मारेको छ । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा राष्ट्रिय टोलीलाई पाइला टेकाउन सफल प्रशिक्षक दसानायकेको नेपाल बसाइ पनि छोटिदै छ ।
नेपाली क्रिकेटलाई नतिजामुखी बनाउन महत्वपूर्ण योगदान गरेका श्रींलकाली मूलका क्यानडाली प्रशिक्षकको सम्झौता आठ दिन मात्र बाँकी छ ।
अर्को सोमबार सम्म नया सम्झौताबारे निर्णय नभए नेपाली क्रिकेटले प्रेरणादायी प्रशिक्षक गुमाउनेछ ।
नेपाल क्रिकेट संघ क्यानले भने खेलाडी तथा समर्थकमाझ अत्यन्तै लोकप्रिय यी प्रशिक्षकको सम्झौता नवीकरणबारे कुनै औपचारिक पहल थालेको छैन् ।
प्रशिक्षक दसानायकेले भने ‘अहिलेसम्म नयाँ सम्झौताबारे कुनै कुराकानी भएको छैन ।’
उनी मंगलवार घर अर्थात क्यानडा जाँदैछन् । स्रोतका अनुसार दसानायकेको नवीकरण गर्ने नगर्ने भन्ने बिषयमा क्यानम मतभेद छ ।
क्यानको हालै सम्पन्न बैठकले अध्यक्ष टंक आङबुहाङलगायतको कार्य सम्पादन समितिलाई यो बिषयमा पहल गर्ने म्यान्डेट दिएको छ ।
खासमा दसानायकेले टिम तथा विकास योजनामा पकड राखेकोमा क्यानका केही पदाधिकारी खुशी छैनन् ।
उनीहरुले टिम छनौटमा दसानायकेको संलग्नतालाई लिएर प्रश्न उठाएका थिए ।
खेलाडी र समर्थकका दरिलो आड पाएका प्रशिक्षक दसानायकेले सार्वजनिक रुपमै क्यानप्रति असन्तुष्टि जनाएका थिए ।
कप्तान पारस खड्का भन्छन‘ पुबुदु सर हाम्रो टोलीको ‘फादर फिगर’ हुन् । ’
उनलाई जोगाउन नसके ठूलो धक्का लाग्छ खड्काले भने ।
कप्तान खड्का र टिम उनको नवीकरण हुनुपर्नेमा छन् । दसानायके नेपाल आएपछि नेपाली टिमलाई डिभिजन २ र विश्वकपमा पुगेको थियो ।