
काठमाण्डु, ८ चैत – नेपाली क्रिकेट टिमले ट्वान्टी–ट्वान्टी विश्वकपमा गरेको सानदार प्रदर्शनले सारा नेपालीलाई खुसी दिइरहेकाबेला नेकपा–माओवादीका उपध्याक्ष सिपी गजुरेलले यसलाई विकृति भनेका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा गजुरेलले यस्तो बताएका हुन् ।
उनले क्रिकेटबारे दिएको अभिव्यक्ति जस्ताको तस्तै :
‘क्रिकेट खेल्नेहरु आज देशको नायक भएका छन् । हिजो देख्नुभयो होला एयरपोर्टमा क्रिकेटरहरुलाई स्वागत गर्नेको मारामार थियो ।
अनि हामीलाई ति क्रिकेटरहरुबाट सिक भनिँदैछ । नेताहरु हो तिनीहरुबाट सिक रे ! हेनुस् नेपालको राजनीति अहिले यस्तो भाको छ ।
अब हामी सबै त्यसैको पछि लागेर हिँड्ने ? हुँदैन त्यस्तो ।
हो क्रिकेटले एउटा मनोरञ्जन दिन्छ, राम्रो प्रदर्शन गर्नुपर्छ, नेपालको नाम त्यहाँबाट पनि अघि बढाउनु पर्छ, यसको पक्षमा हामी पनि छौं । तर जति राम्रो क्रिकेट खेलेपनि नेपालको मुहार त कहिल्यै पनि फेरिँदैन ।
त्यहाँ क्रिकेट खेल्ने खेलाडीले धेरै पुरस्कार त पाउलान्, एकजनालाई ५ लाख दिने भनेर यहि सरकारले पनि घोषणा ग¥यो । त्यसरी पैसा त ओहिरिएला ।
यहाँका उद्योगपतिहरुले अझै धेरै देलान्, यहाँ धेरै कालो धन जम्मा गर्नेहरुले प्रतिस्पर्धा गर्लान्, तर नेपालको अनुहार चाहिँ फेरिँदैन । नेपाललाई परिवर्तन राजनीतिले नै गर्छ ।
क्रिकेटले, फुटबलले भलिबलले गर्दैन । अहिले नेपालको राजनीति त्यतातिर छ, यो विकृति हो । समाज विकृतितर्फ उद्धत छ, अब हामी सबैले यही रहेछ क्यारे भनेर पछि लाग्नु हुँदैन ।’
यद्यपी विश्वकपमा नेपाली क्रिकेट टिमले गरेको प्रदर्शनको विश्वभर चर्चा छ । क्रिकेट ठूला हस्तीहरुलेसमेत नेपाली क्रिकेट टिमको प्रशंसा गरिरहेकाबेला गजुरेलको यस्तो अभिव्यक्ति आएको हो । नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत माओवादी लगायतका दलहरुले भने विशेष वक्तब्य नै जारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।