शान्ति र स्थायित्वका लागि संविधान : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७० चैत ८ गते ११:५७ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, ८ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनताको शान्ति, स्थायित्व र अमनचयनका लागि एक मात्र विकल्प लोकतान्त्रिक संविधान भएको बताएका छन् ।

ज्यापू महागुठीको तेस्रो राष्ट्रिय महाधिवेशनको शनिबार वसन्तपुरमा उद्घाटन गर्दै उनले नेपाली जनताले एक वर्षमा संविधान निर्माण हुने अपेक्षाका साथ दिएको अभिमतलाई उच्च सम्मान गर्दै संविधान निर्माणका लागि सबै अघि बढ्नुपर्ने उल्लेख गरे ।

सहमति, सहकार्य र एकताको सिद्धान्तलाई आत्मसात् गर्दै संविधान निर्माणको अभियानमा जुट्न सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रह गर्दै कोइरालाले संविधान निर्माण र विकासको कामलाई सँगसँगै लैजान सरकार प्रतिबद्ध भएको बताए ।

सबैको सकारात्मक सहयोग भएमा आगामी १० वर्षभित्रमा देशको विकासको गतिलाई उच्च बिन्दुमा पु¥याउन सकिने कोइरालाको भनाइ छ ।

विकासमा स्थानीय निकायको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै कोइरालाले संविधानसभाको निर्वाचन पछि छ महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गर्ने पूर्व प्रतिबद्धतालाई सबैले आत्मसात् गर्नु आवश्यक रहेको उल्लेख गरे ।

नेपाल बहुजाति, भाषाभाषी भएको देश रहेको चर्चा गर्दै उनले अनेकतामा एकता नेपालीको विशिष्टता भएको र नेपालको सामाजिक, सांस्कृतिक उत्थानमा ज्यापू समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । विभिन्न जातजाति भाषाभाषीबीच एकता सद्भाव कायम गराउन ज्यापू समुदायले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा कोइरालाले जोड दिए ।

ज्यापू समुदायका तर्फबाट ज्यापू महागुठीका लागि भवन निर्माण, बाजागाजा संरक्षण तथा ज्यापू सङ्ग्रहालयका लागि सरकारसँग गरिएको मागप्रति आफू सकारात्मक रहेको र त्यसको कार्यान्वयनका लागि सहयोग गर्ने विश्वास उनको छ ।

सो अवसरमा ज्यापू महागुठीको स्थापना र विकासमा महत्वपूर्ण सहयोग गर्ने विपेन्द्र प्रकाश महर्जन, देवबहादुर डङ्गोल र ई. मोहन कृष्ण डङ्गोल लगायतलाई ज्यापू महागुठीका तर्फबाट प्रधानमन्त्री कोइरालाले सम्मान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us