महिलाको उत्थानका लागि बिना धितो लगानी

काठमाण्डु टुडे २०७० चैत ८ गते १०:४९ मा प्रकाशित

paisa1म्याग्दी, ८ चैत – ग्रामीण क्षेत्रका महिलाले सञ्चालन गरेको सहकारी संस्थाले बिना धितो लाखौं रुपैयाँ लगानी गरेको छ ।

मल्लाजमा रहेको माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाले एक वर्षको अवधिमा सामूहिक जमानीका आधारमा महिलाहरूको उत्थानका लागि रु २३ लाखभन्दा बढी सहुलियत ब्याजदरमा लगानी गरेको हो ।

विसं २०६९ भदौमा स्थापना भएको संस्थाले हालसम्म रु २३ लाख ३० हजार बिना धितो लगानी गरेको जनाएको छ ।

महिलाहरूलाई तरकारीखेती, कुखुरापालन, बाख्रापालन र व्यवसाय गर्नका लागि १२ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्ने गरेको संस्थाकी सहजकर्ता कमला जिसीले बताए ।

६ सय ६ जना महिला सेयर सदस्य रहेको संस्थाबाट हालसम्म ४०५ जनाले ऋण लगेका छन् । बढीमा छ महिनासम्मका लागि प्रतिव्यक्ति रु ३० हजारसम्म लगानी गर्ने गरेको सहजकर्ता जिसीले जानकारी दिए । संस्थाअन्तर्गत माझफाँट गाविसभर २६ वटा समूह रहेका छन् ।

समूहको सिफारिसमा लगानी गर्ने गरिएको छ । महिलालाई आयआर्जनमूलक कार्यमा संलग्न गराई आर्थिक रूपमा सहज बनाउन प्रतिव्यक्ति रु १०० देखि एक हजार ५०० का दरले सेयर सङ्कलन गरेर संस्था स्थापना गरेको सञ्चालक समितिका कमला शर्माले बताए ।

संस्था खुलेपछि महिला बचततर्फ अग्रसर हुनुका साथै आर्थिक गतिविधिका लागि सहज भएको शर्माले बताए ।

संस्थाले समूहमार्फत मासिक रूपमा प्रतिव्यक्ति रु ५० देखि १०० का दरले बचतसमेत सङ्कलन गर्ने गरेको छ । हालसम्म रु सात लाख ८१ हजार ९८२ बचत सङ्कलन भएको छ । सेयरसहित कुल पुँजी रु २३ लाख ९८ हजार २३२ रहेको सहजकर्ता जिसीले बताए ।

संस्था स्थापनाका लागि सामाजिक समावेशीकरण तथा विभेदरहित परियोजनामार्फत प्लान नेपालले एक लाख ३५ हजार सहयोग गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us