मलेसियाका पूर्वप्रधानमन्त्री नेपालमा

काठमाण्डु टुडे २०७० चैत ८ गते १०:१३ मा प्रकाशित

काठमाण्डु, ८ चैत – मलेसियाका भूतपूर्व प्रधानमन्त्री डा. महाथीर मोहम्मद चारदिने भ्रमणका क्रममा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाण्डु आइपुगेका छन् ।

सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा भोलिदेखि आयोजना गर्ने व्यापार सम्मेलनमा मुख्य वक्ताका रुपमा भाग लिन उनी नेपाल आएका हुन् ।
पूर्व प्रधानमन्त्री मोहम्मद नेतृत्वको टोलीलाई परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनाली, महासङ्घका अध्यक्ष सुरज वैद्य, यहाँस्थित मलेसियाली दूतावासका वरिष्ठ अधिकारीका साथै उद्यमी व्यवसायीहरुले स्वागत गरेका थिए । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री कोइरालासँग उनले छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

यसैबीच चीनको दक्षिण–पश्चिमी प्रान्त युनानका गभर्नर ली झिहेङ नेपालको दुईदिने औपचारिक भ्रमणका सिलसिलामा शनिबार अपराह्न काठमाण्डु आइपुगेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालालाई ‘दोस्रो चीन दक्षिण एसिया व्यापार मेला’ मा आमन्त्रण गर्न गभर्नर ली नेपाल भ्रमणमा आएका हुन् ।

सात सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनुभएका गभर्नर लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताई, परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदी, शिष्टाचार अधिकृत विजयबहादुर राउत र यहाँस्थित चिनियाँ दूतावासका उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए ।

चिनियाँ विशिष्ट अतिथिले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us