चितवन, ८ चैत – एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले जातीयताका आधारमा राज्य पुनःसंरचना गर्न नसकिने बताएका छन् ।
पेसागत महासङ्घ चितवन शाखाको चौथो अधिवेशनको उद्घाटन गर्दै नेता पाण्डेले जातीयताका आधारमा देश विखण्डन गरे देशमा जातीय द्वन्द्व भड्कने भएकाले अब बन्ने संविधानमा जातीयताका आधारमा नभई भूगोलका आधारमा राज्य पुनःसंरचना गर्नुपर्ने बताए ।
पेसागत महासङ्घ चितवनका अध्यक्ष एकनारायण शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटनसत्रमा महासङ्घका केन्द्रीय अध्यक्ष विश्वनाथ प्याकुरेल, चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा, महासङ्घका केन्द्रीय सदस्य विष्णुप्रसाद धिताल, महासङ्घका जिल्ला इन्चार्ज मङ्गलराम दराईलगायतले बोलेका थिए ।
बन्दसत्रमा महासङ्घ चितवन शाखाका सचिव चन्द्रलाल राजभण्डारी र कोषाध्यक्ष दीपकबाबु नेपालले सङ्गठनिक तथा आर्थिक प्रतिवेदन पेस गरे । अधिवेशनले तीन वर्षे कार्यकालका लागि १७ सदस्यीय नयाँ नेतृत्व चयन गर्दैछ ।