
सुर्खेत, ८ चैत – पश्चिम सुर्खेतका बेतान गाविसमा रहेका छाउ गोठ भत्काउन थालिएको छ ।
छाउपडीका कारण त्यस क्षेत्रका महिलाले जोखिमपूर्ण जीवन जीउनुपर्ने भएकाले यस्तो कुप्रथाको अन्त्यका लागि छाउ गोठ भत्काउने अभियान थालिएको हो ।
यही चैत मसान्तसम्म बेतान गाविसलाई छाउपडी मुक्त गाविस घोषणा गर्ने लक्ष्यअनुसार चलाइएको अभियानअन्तर्गत जिल्लाको सबैभन्दा पश्चिममा रहेको बेतान गाविसका विभिन्न वडामा बनाइएको छाउ गोठ भत्काइएको हो ।
छाउ गोठ भत्काएपछि २ नं वडालाई छाउपडी मुक्त वडा घोषणासमेत गरिएको छ । स्थानीयका घरमा बनाइएको छाउ गोठ भत्काएर छाउपडी मुक्त वडा घोषणा गरिएको गाविस सचिव शरण बडुवालले जानकारी दिए ।
छाउ गोठ भत्काइए पनि बेतान ८ र ९ वडालाई भने छाउपडी मुक्त वडाका रुपमा घोषणा गरिएको छैन । साथै बेतानमा खुल्ला दिसामुक्त अभियानलाई पनि छाउपडी मुक्त अभियानसँगै चलाइएको गाविस सचिव बडुवालले बताए ।
छाउपडी मुक्त अभियानअन्तर्गत सबै वडाका नागरिकलाई आफूले सचेत बनाएको र उनीहरु पनि सकारात्मक भएको भन्दै उहाँले अब छाउपडी मुक्त गाविस घोषण गर्न सहज हुने बताए ।
वडास्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिले पनि छाउ गोठ भत्काउन थालेका छन् । सुर्खेतको पश्चिममा रहेका सबैजसो गाविसमा छाउपडी प्रथा कायमै रहेको छ ।