विद्यालय गाईगोठजस्तो, शौचालय पक्की !

काठमाण्डु टुडे २०७० चैत ८ गते ७:०५ मा प्रकाशित

सल्यान, ८ चैत – स्याङ्जा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ढाकाडाम गाविस–५ अरनेटाको दिनदिप जनता प्राथमिक विद्यालयमा पुग्ने जो कोहीलाई पनि आश्चर्य लाग्न सक्छ ।

सो विद्यालय गाईगोठ हो कि विद्यालय हो भनेर झुक्किने गर्छन् तर झुक्किनु पर्दैन, यो गाईगोठ नभई विद्यालय नै हो । जहाँ प्राथमिक तहका ८१ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

शिशु कक्षासहित ४ कक्षासम्म सञ्चालित यो विद्यालयले २०६६ सालमा जिल्ला शिक्षा कार्यालयबाट अनुमति पाएको थियोे । विद्यालयका लागि चाहिने भवन, फर्निचर आदि भौतिक पूर्वाधार नहुँदा बालबालिकाहरु गाईगोठजस्तो देखिने टहरामा बसेर पढ्न बाध्य छन् । विद्यालयलाई चाहिने आवश्यक फर्निचर नहुँदा धूलोमा बसेर पढ्नुपर्ने बाध्यता छ ।

आर्थिक अभावका कारण भौतिक पूर्वाधारको व्यवस्था हुन नसकेपछि भुइँमा बसेर पढ्नुपर्दा पटकपटक बालबालिका बिरामी हुने गरेका छन् । वर्षामा पानीले सताउँछ, हिउँदमा चिसो र आजभोलि गर्मी तथा हावाहुरीले बालबालिकालाई सताउने गरेको विद्यालयका प्रधानाध्यापक नेवबहादुर केसीले बताए ।

यस्तो अवस्थाको विद्यालयमा शौचालय भने पक्की छ । जिल्ला शिक्षा कार्यालयले भवनलाई कम महत्व दिएको र शौचालयमा मात्र ध्यान दिएको अभिभावक बताउँछन् । कार्यालयको सहयोगमा तीनकोठे महिलामैत्री शौचालय बनेको छ ।

विद्यालयमा ८१ जना विद्यार्थी भर्र्ना भए पनि पढ्ने व्यवस्था राम्रो नहुँदा कमैमात्र विद्यार्थीहरु विद्यालय आउँछन् । उक्त समस्याका कारण विद्यार्थीहरु नजिकको विद्यालय छोडेर टाढाको विद्यालयमा जाने गरेको स्थानीयवासी रामसिंह खड्काले बताए ।

विद्यालय भवनका लागि जिल्ला शिक्षा कार्यालय, गाविस, जिविसलगायतका निकायमा पटकपटक जानकारी गराउँदा पनि पहल नभएको प्रधानाध्यापक केसीले गुनासो गरे । उनले बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउन विद्यालय भवन निर्माण गरिदिन शिक्षा कार्यालयसँग आग्रह गरे ।

वनको घाँस बेचेर मासिक तीन हजार, वन समूहबाट मासिक चार हजार, गाविसबाट मासिक आठ हजार उठाएर तथा पिसिएफबाट प्राप्त रकमबाट विद्यालयका चार जना शिक्षकलाई तलब खुवाउनुपरेको प्रधानाध्यापक केसीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us