
काठमाण्डु, ८ चैत – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भाषिक र जातीय पहिचानका आधारमा मात्र नभई विविधतामा आधारित सङ्घीयताको आवश्यकता भएको बताएका छन् ।
नेकपा एमाले केन्द्रीय सङ्घीय मामिला विभागले शनिवार आयोजना गरेको छलफल कार्यक्रममा खनालले आफ्नो पार्टी सात प्रदेशको प्रस्तावमा अघि बढिरहे पनि पाँचदेखि नौसम्मको प्रदेशमा छलफल गर्न तयार रहेको बताए ।
अध्यक्ष खनालले संविधानसभा नियमावली पारित भएसँगै संविधान निर्माण र राज्य पुनःसंरचनाको ठोस प्रक्रिया सुरु भएकाले सबै नेपालीको आर्थिक, सामाजिक हकअधिकार सुनिश्चित गर्न एक वर्षभित्र संविधान जारी गर्नुपर्ने बताए ।