आगोले बनायो बाजेको उठीबास

काठमाण्डु टुडे २०७० चैत ८ गते ४:५४ मा प्रकाशित

aagoकाठमाडौँ, ८ चैत – बुढेसकालमा निकै दुःख कष्ट गरेर जमाएको सम्पत्ति आगलागीबाट ध्वस्त भएपछि वनबहादुर धौलाकोटी परिवारको उठीबास भएको छ ।

काठमाण्डु महानगरपालिका –३४ नयाँबानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँगैको पानी ट्याङ्की पछाडि एक भाडाको घरको भुइँतलोमा रहेको ‘बाजेको भाँडा पसल’ मा गएराति आगलागी हुँदा सबै सामान जलेर नष्ट भएको छ ।

‘बुढेसकाल पनि नभनी निकै कष्टका साथ जोडेको सबै सम्पत्ति नै यही पसल थियो, जलेर पसलका सबै सामान नष्ट भए मेरो उठीबास भयो,’ शनिबार घटनास्थलमा भेटिएका धौलाकोटीले खिन्न मुद्रामा भने ।

शुक्रबार बेलुका सधैजसो ८ :३० बजे पसल बन्द गरेर नजिकैको डेरामा सुतिसकेका उनले एकैपटक थाहा भयो जतिबेला पुरै बानेश्वरनै कोलाहल मच्चिएको थियो । आगलागीबाट रु ४० लाखभन्दा बढीको क्षति भएको पीडित धौलाकोटीले बताए । महानगरीय प्रहरी वृत नयाँबानेश्वरले आगलागीको कारण यकिन नभए पनि विद्युत् सट भई आगलागी भएको जनाएको छ । गएराति करिब १० बजे लागेको आगो चारवटा दमकल, स्थानीयवासी र प्रहरीको एक घण्टाको सामूहिक प्रयासपछि नियन्त्रणमा आएको थियो ।
लमजुङ स्थायी घर भएका धौलाकोटी २३ वर्षदेखि नयाँ बानेश्वरमा भाडाकुडासम्बन्धी व्यवसाय गर्दै आएका थिए । तीन तले भवनमा भुइँमा भाँडा पसल, बीचमा कपडा र माथिल्लो तलामा बानेश्वर फास्टफुट क्याफे सञ्चालनमा रहेका छन् । आगलागीका कारण कपडा पसलमा क्षति नभए पनि क्याफेमा सामान्य क्षति भएको घरधनी प्रेमराज बासुकलाले बताए ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us