व्यापार सम्मेलन आइतबारदेखि

काठमाण्डु टुडे २०७० चैत ७ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, ७ चैत – अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय लगानीकर्तालाई आकर्षण गर्ने उद्देश्यले सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा यही चैत ९ र १० गते यहाँ ‘नेपाल व्यापार सम्मेलन’ हुने भएको छ ।

नेपाललाई प्रमुख लगानी गन्तव्यको रुपमा अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्ने सम्भाव्य परियोजनाका बारेमा लगानीकर्तालाई जानकारी दिन र नेपाली र विदेशी लगानीकर्तालाई व्यापार विस्तारको कार्यमा पारस्परिक सहयोग अभिवृद्धि गर्ने लक्ष्य राखिएको सो सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ । 

सम्मेलनबारे महासङ्घले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सूरज वैद्यले सम्मेलनका मुख्य वक्ताको रुपमा मलेसियाका आर्थिक विकासका प्रणेता एवम् पूर्व प्रधानमन्त्री डा. महाथिर विनमोहमदलाई आमन्त्रण गरिएको जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन उनी भोलि यहाँ आइपुग्ने उनले बताए ।

सम्मेलनमा मन्त्रिपरिषद्का सदस्य, विशिष्ट सरकारी अधिकारीका साथै चीन, बेलायत, भारत, क्यानाडालगायत मुलुकका लगानीकर्ता तथा व्यावसायिक प्रतिनिधि सहभागी हुनेछन् । अहिलेसम्म १०० जनाभन्दा बढी नेपाली व्यवसायीले कार्यक्रममा सहभागिताका लागि नाम दर्ता गराएका अध्यक्ष वैद्यले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us