काठमाण्डु, ७ चैत – जापान सरकारले धादिङ जिल्लाको एक गैरसरकारी संस्थामार्फत स्थानीयस्तरमा साना सिँचाइ कर्यक्रमका लागि एक करोड ६ लाख ६४ हजारको आर्थिक अनुदान उपलब्ध गराएको छ ।
सो अनुदान रकम धादिङको ‘लोकल इफोर्ट फर सोसियल ट्रान्सफरमेसन्स नेपाल’ नामक संस्थामार्फत लघु सिँचाइ कार्यक्रम सञ्चालन गरी स्थानीय नागरिकको सशक्तीकरणका लागि प्रयोग गरिने छ ।
काठमाण्डुस्थित जापानी दूतावासमा शुक्रबार आयोजित कार्यक्रममा सो सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र उक्त संस्थाका अध्यक्ष विष्णु श्रेष्ठले हस्ताक्षर गरे ।
उक्त रकममार्फत जिल्लाका खाल्टे र नीलकण्ठ गाविसका विभिन्न वडामा साना सिँचाइ कार्यक्रमका विभिन्न आयोजनाको निर्माण गरिने सो संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उक्त आयोजनाबाट ती क्षेत्रका करिब १६४ घरधुरीलाई पानीको स्रोत उपलब्ध हुनाका साथै करिब ४२ हेक्टर क्षेत्रफलको खेतीमा सिँचाइ पुग्ने बताइएको छ ।
कार्यक्रममा राजदूत ओगावाले जापान नेपालको एक असल मित्र राष्ट्र भएकाले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रको विकासका लागि लामो समयदेखि निरन्तर रुपमा सहयोग पु¥याउँदै आएको बताए ।