
काठमाण्डु, ७ चैत – नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाट नै आफूलाई एक वर्षभित्रमा संविधान बनाउन प्रेरणा जागेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व सभापति स्व कोइरालाको पाँचौँ पुण्यतिथिमा प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपालले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री कोइरालाले भने, ‘गिरिजाबाबुले ल्याएको मेलमिलाप नीतिकै कारण मुलुकबाट निरङ्कुश राजतन्त्रको अन्त्य भई तत्कालीन विद्रोही नेकपा–माओवादीलाई यहाँसम्म ल्याइएको हो । उहाँले बन्दुकभन्दा विचार ठूलो हो भनेर प्रमाणित गरेर देखाउनुभयो । तसर्थ उहाँबाटै प्रेरणा पाएर एक वर्षभित्रमा नयाँ संविधान निर्माण गरी जारी गर्नेछु ।’
कार्यक्रममा काँग्रेस उपसभापति रामचन्द्र पौडेलले स्व गिरिजाप्रसाद कोइराला हामीमाझ नभए पनि उनले प्रारम्भ गरेको शान्ति प्रक्रिया र संविधानसभामा मुलुक रहेको बताए ।
साथै उनको इच्छा र सम्झनाले नै एक वर्षभित्रमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न प्रेरणा जागेको पौडेलले बताए ।
कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले स्व गिरिजाप्रसाद कोइरालाको पुण्य तिथि र अन्तर्राष्ट्रिय वन दिवस एकै दिन परेकाले वृक्षारोपण गरी सम्झना गरिएको बताए ।